काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।
आज अपराह्न बस्ने सत्तारुढ गठबन्धनको बैठकलाई निष्कर्षमा पुर्याउन अध्यक्ष नेपाल बालुवाटार पुगेका हुन् ।
एकीकृत समाजवादीले पाउने मन्त्रालयको भाग मिलाउन उनी बालुवाटार पुगेको दाबी गरिएको छ ।
नेपालसँगै सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला रहेका छन् ।
अध्यक्ष नेपालसहितको टोली मन्त्रालयको कुरा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा जुटेका छन् ।
आज अपराह्न ४ बजे सत्तारुढ गठबन्धनको बैठक बस्नु अघि नै अध्यक्ष नेपालले प्याकेजमै सहमति गर्न खोजेका छन् ।
एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालयको दाबी गरिरहेको छ । यता माओवादीले गृह आफै राख्ने बताउँदै आएको छ ।
गठबन्धनका सबैजसोले सरकारमा जाने इच्छा देखाएपछि प्रचण्डलाई तनाव थपिएको छ ।
प्रचण्डले यसअघि चैत १० गतेभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने दाबी गरेका थिए ।
त्यसपछि भाका १३ गते सोमबारसम्मलाई पुगेको थियो । तर मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।