arrow

केदार र चुडामणी नेकपा एसबाट मुक्त, एमालेमा जाने तरखर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
kedar-chudamani-neupane-brothers.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणी जंगलीले पार्टी परित्याग गरेसँगै एमालेमा फर्कने तयारी गरेका छन् । 

पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै नेताद्वयले दिएको राजीनामा मंगलबार बसेको सचिवालय बैठकले स्वीकृत गरेसँगै उनीहरु एमालेमा फर्कने तयारी गरेका हुन् । 

नेकपा एसका तेस्रो वरीयताका नेता मुकुन्द न्यौपाने पनि एमालेमै फर्किने तयारीमा रहेका छन् । उनलाई पार्टीले स्पष्टीकरण सोधिसकेको छ । अध्यक्ष माधवकुमार नेपालसँगै पार्टी विभाजन गरेर हिँडेका न्यौपाने दाजुभाइ र जंगलीले एक महिनाअघिदेखि नै एमाले नेताहरुसँग संवाद गर्दै आएका थिए । 

निर्वाचनको समयमा पनि एमालेलाई सहयोग गर्नुपर्छ भनेर लागेका उनीहरुलाई एसले चुनावभर कतै जिम्मेवारी दिएको थिएन । मुकुन्द न्यौपाने लामो समय एमालेको केन्द्रीय तहमा बसेका नेता हुन् । मजदूर फाँटमा काम गरेका न्यौपाने शालिन र भद्र नेता मानिन्छन् । साथै उनी माले निर्माण गर्ने मध्येका एक नेता पनि हुन् ।  

एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका केदार न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष बनेका थिए । 

स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन लगत्तैदेखि उनी एमाले र नेकपा एस मिल्नुपर्ने पक्षमा थिए । पछिल्लो सत्ता गठबन्धनले यी दुई पार्टीलाई झन् टाढा बनाएपछि न्यौपानेले पार्टी छाडेका हुन् । 

नेकपा एसमा तेस्रो वरीयताका नेता मुकुन्द न्यौपाने उनका दाइ हुन् । उनले पनि एमालेसँग मिल्नुपर्ने भन्दै पार्टी बैठकमा लिखित प्रस्ताव नै पेस गरेका थिए । त्यसपछि अध्यक्ष माधव नेपालले उनलाई फरक दृष्टिले हेर्न थालेका थिए । 

अहिले दुवै न्यौपाने र जंगली एमालेमै फर्कने तयारी गरिरहेको स्रोतको दाबी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको समय मिलेपछि उनीहरुलाई उचित जिम्मेवारीसहित एमालेमा ल्याउने तयारी भैरहेको एमालेका एक पदाधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ