arrow

भागबण्डा मिलाउन गठबन्धनको बैठक बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
10parties-meeting-gathabandhan-2079-12-14.jpg

काठमाडौं । सत्ता गठबन्धनका दलहरू मन्त्रालयको भागबण्डा मिलाउन एकै ठाउँ जुटेका छन् । गत चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार दिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिने भने पनि एक जना पनि मन्त्री थप्न सकेका छैनन् । 

प्रधानमन्त्रीले दुई तिहाइभन्दा बढी मन्त्रालय एक्लै सम्हालेको महिना दिन बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ । 

मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बढी मन्त्रालय दाबी गरेका छन् । नेकपा एस र जसपाले ३ तथा लोसपाले २ मन्त्रालय दाबी गरेपछि बैठक निष्कर्षविहीन बन्दै आएको छ । 

हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको थियो । साझा कार्यक्रममा सहमति जुटाएर मन्त्रालय बाँडफाँटको आफ्नो खाका बैठकमा पेस गर्ने प्रधानमन्त्रीको तयारी छ । सोही अनुरूप आजको बैठकले एस, जसपा र लोसपालाई सहमति गराउँदै मन्त्रिमण्डल विस्तार र मन्त्रालय भागबण्डाबारे टुङ्गो लगाउने अपेक्षा गरिएको छ । 

हिजोको बैठकमा सत्ता साझेदार दलमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी थिए । 

साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता थिए ।

मंगलबारको बैठकमा कांग्रेसले ९, जसपा र एसले ३-३ तथा लोसपाले २ मन्त्रालयमा दाबी गरेका थिए । दलहरूले पाउने भन्दा बढी मन्त्रालयको दाबी गरेपछि समाधानको गाँठो फुक्नु भन्दा झन् कसिदै गएको छ ।  

यसले गर्दा छिट्टै सहमति हुने सम्भावना क्षिण हुँदै गएको छ । गठबन्धनका सबै दलले भागबण्डा खोजेपछि प्रचण्ड पनि समस्यामा छन् । 

बालुवाटारमा छलफलमा जुटे पनि प्रचण्ड स्वयंमै मनस्थिति थप चञ्चल पाइएको छ । उनी समस्याबाट भाग्दै आइरहेको आरोपसमेत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ