arrow

चितवनबाट राम्रो सन्देश नआएपछि रविले गरे गठबन्धनको साझा उम्मेदवार बनाउन प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
rastriya-swatantra-party-ravi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनको क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् । रास्वपा सभापति लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग यस्तो प्रस्ताव राखेका हुन् । 

१० बैशाखमा हुन लागेको उपनिर्वाचनमा आफूलाई गठबन्धनको उम्मेदवार बनाउने प्रस्ताव राखेपछि उनीहरुले सल्लाह गरौँला भन्ने जवाफ दिएका थिए । ‘रविजीले गठबन्धनको उम्मेदवार बनाउनुस् भन्नुभयो हामीले सल्लाह गरौँला भन्यौँ, उनीहरुको भनाइ उधृत गर्दै स्रोतले भन्यो । 

गत मंसिर ४ गते भएको निर्वाचनमा रवि चितवन–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । तर उनको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनको सांसद पद गएपछि त्यहाँ वैशाख १० गते उपनिर्वाचन हुँदैछ । 

त्योसँगै राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ तथा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निर्वाचन क्षेत्र बारा–२ मा पनि बैशाख १० गते नै उपनिर्वाचन हुँदैछ ।

रविले पहिला दाहालसँग, त्यसपछि सत्ता गठबन्धनमा शीर्ष नेताहरूको बैठकमा चितवन २ को उपचुनावमा आफूलाई सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनु पर्ने प्रस्ताव राखेको स्रोतले जनाएको छ । 

चितवनबाट राम्रो रिपोर्ट नआएपछि उनले गठबन्धन दलहरुको सहयोग मागेको स्रोतको दाबी छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने विषयमा छलफल हुँदा रविले आफूलाई गठबन्धनको उम्मेदवार बनाउने प्रस्ताव राखेका थिए । 

तर अहिले उनीहरु सरकारमा पनि सहभागी नहुने भएका छन् । रविले मागेका साविकका मन्त्रालयहरु कांग्रेस र माओवादीले बाँडेर लिने भएपछि रवि लामिछानेको पार्टी सरकार बाहिर बस्ने निश्चित जस्तै भएको छ । 

साथै रविले चुनावअघि नै गैरसांसदको रुपमा मन्त्री बनाउन पनि प्रधानमन्त्री प्रचण्डसँग प्रस्ताव राखेका थिए । प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको छलफलमा रहेका बेला रविले त्यही विषयमा छलफल गर्न जाँदा त्यस्तो प्रस्ताव राखेका थिए । 

तर प्रधानमन्त्रीले साविकका मन्त्रालय दिन नसकिने बताएपछि उनी निराश भएर फर्केका थिए । रविले प्रधानमन्त्री दाहाललाई मंगलबार सिंहदरबारमा भेटेर आफ्नै नेतृत्वमा सरकारमा जाने अडान लिएको तर त्यसका लागि आफूलाई गैर सांसदको रुपमा मन्त्री बनाउनु पर्ने, साविकको मन्त्रालय दिनुपर्ने शर्त अघि सारेका थिए । 

लामिछानेको पार्टीका प्रवक्ता मुकुल ढकालले भने अहिले आफूहरुको ध्यान सरकारतिर नभएको भन्दै टारे । ‘अहिले हाम्रो ध्यान सरकारमा जाने होइन उपनिर्वाचन जित्ने हो । अहिले हाम्रो शक्ति चितवनमा केन्द्रीत भएको छ’, ढकालले भने । 

तर सोही पार्टीका उपसभापति डोलप्रसाद अर्यालले भने सरकारमा जानुपर्ने धारणा राख्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ