arrow

परिणाम नदिने मन्त्रीलाई पार्टीले फिर्ता बोलाउने गगनको भनाइ, २०८४ को चुनाव एक्लै लड्ने 

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ चैत १८ शनिबार
gagan-thapa-nepaljung-2079.jpg

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको आम निर्वाचनमा कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै महामन्त्री थापाले अरु जुनसुकै दल जोसुकैसँग मिले पनि कांग्रेस अब एक्लै लड्ने तागत बोकेर चुनावमा जाने बताए ।

निर्वाचनअघिको गठबन्धनले प्रजातन्त्रलाई विकृत बनाउने र नागरिकको छनोट अधिकारलाई साँघुरो बनाउने तर्क गर्दै उनले अबको निर्वाचनमा कांग्रेस एक्लै लड्ने गरी संगठित हुनुपर्ने बताए । 

महामन्त्री थापाले बरु निर्वाचन प्रणाली बदलेर भए पनि निर्वाचन अघिको गठबन्धनको औचित्य अन्त्य गर्नुपर्ने तर्क गरे । निर्वाचन अघिको गठबन्धनले पार्टी जीवनलाई ध्वस्त बनाउने जिकिर गर्दै उनले निर्वाचन प्रणालीमा त्रुटि भए बरु निर्वाचन प्रणाली नै बदलेर जानुपर्ने आवश्यकता औंल्याए ।

महामन्त्री थापाले गएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचन लडेका कारण अर्को चुनावसम्म भने यही गठबन्धनले संगसंगै बसेर काम गर्नुपर्ने बताए । पार्टी कार्यकर्ताले आफ्नो मत एक अर्कालाई ट्रान्सफर गरेकाले यो गठबन्धन आगामी चुनावसम्म कायमै रहनुपर्ने तर्क गरे । आफू चुनाव अघिको गठबन्धनको विपक्षमा रहँदै आए पनि परिस्थिति अर्कै बनेको प्रसंग उल्लेख गर्दै उनले पुस १० को गल्ती सच्चाएर अघि बढेको बताए । 

महामन्त्री थापाले पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि बढ्न नसके जनताको धैर्यता टुट्ने बताए । उनले अबको पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अघि बढ्न सक्नुपर्ने बताए । 

थापाले मुलुकको अवस्था जर्जर रहेको उल्लेख गर्दै भने, ‘अब न सरकारलाई समयको सुविधा छ न त नागरिकमा धैर्यता छ, त्यसैले तीब्र जनआकांक्षा अनुरुप परिणाम दिने गरी काम गर्नुको विकल्प छैन ।’ उनले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई छुटको सुविधा नभएको भन्दै परिणाम नदिने मन्त्रीहरुलाई फिर्ता बोलाइने बताए । 

महामन्त्री थापाले कांग्रेसको क्रियाशील सदस्यता वितरण शुरु गरिएको जानकारी दिँदै अब अधिवेशनका बेला क्रियाशील सदस्यता नबाँडिने स्पष्ट पारे । उनले अब पार्टीमा कसैले पनि क्रियाशील सदस्यता पाउने अवसरबाट बञ्चित हुनु नपर्ने बताए । 

उनले पार्टीको विधान बदलेर भए पनि अब तल्लो तहबाटै टिकट वितरण गर्ने प्रणाली विकसित गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । महामन्त्री थापाले क्षेत्रीय संसदीय समितिले क्रियाशील सदस्यहरुको मतका आधारमा उम्मेदवार छान्ने प्रणाली पार्टीभित्र विकसित गर्ने गरी बहस प्रारम्भ गर्नुपर्ने बताए । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको सम्मेलनमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा, पूर्व पार्टी सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, पार्टी सचिव एवम् लुम्बिनी प्रदेशकी सांसद सञ्जुकुमारी चौधरी, लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, महासमिति सदस्यहरु लक्ष्मीनारायण शाह, पूर्णप्रसाद आचार्य र टेकबहादुर खड्का, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता, महिला संघकी सभापति नारायणी रुपाखेती, ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्ल, तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।

सम्मेलनबाट सभापति गौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतको आर्थिक प्रतिवेदन पारित गरिएको छ । 

उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा अर्का उपसभापति कृष्णबहादुर कार्कीले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव कोइरालाले गरेका थिए । 

त्यस क्रममा प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, शहीद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेलाई सम्मानसमेत गरिएको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । सम्मेलनमा १६०० प्रतिनिधि सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ