arrow

उत्तर-दक्षिण जोड्ने सबैभन्दा छोटो करिडोरमा पुल निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
Kaligandaki Karidor.jpg

पर्वत । उत्तर-दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत-स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । 

करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका-६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका-५ जोड्ने गरी सेतीखोलामा तथा स्याङ्जा खण्डको १० किलोमिटर सडकमध्ये कालीगण्डकी गाउँपालिका-७ र गल्याङ -५ जोड्ने गरी आँधीखोलामा पुल निर्माण गरिएको आयोजनाका इञ्जीनियर पवित्रमणि आचार्यले जानकारी दिए ।

आँधीखोलाको पुल निर्माण गर्न रायमाझी-राजेश्वरी-पिटीआर अधिकारी जेभीले विसं २०७७ असार ३० गते सम्झौता गरेको थियो । पचास मिटर लम्बाइको सो पुल रु नौ करोड ६२ लाख ७९ हजार ९३.२९ मा बनेको हो । यस्तै सेतीखोलामा निर्माण भएको ‘ट्रस्टब्रिज’ मुक्तिनाथ-सुयान जेभीले रु पाँच करोड ८६ लाख ८२ हजार ९८.१६ मा पुल निर्माण गरेको हो । 

यस्तै करिडोरअन्तर्गत पाल्पा-गुल्मी-बागलुङ खण्डको कालोपत्र गरिरहँदा पर्वत-स्याङ्जा खण्डमा निर्माणले तीव्रता पाएको छ । सो खण्डको ५३ किमीमा स्याङ्जा खण्डमध्ये मिर्मी-सेतीबेनी सडकको सात किमी महादेव खिम्ती-अन्जना-पराजुली जेभी लमजुङले निर्माणको जिम्मा लिएको थियो ।

करिडोरको पर्वत खण्डमा ४३ किमी र स्याङ्जामा १० किमी पर्दछ । पर्वत खण्डमा छ किमी कालोपत्र हुँदा १७ किमी कालोपत्रको अन्तिम तयारीमा रहेको छ । थप २० किमीको ठेक्का निकाल्ने तयारीमा रहेको इञ्जीनियर आचार्यले बताए । करिडोरको पर्वत-स्याङ्जा खण्डको मिर्मी, सेतीबेनी, रानीपानी, कुर्घा, फलेवास, अर्मादी खण्डको सडक निर्माणले पर्वतको कालापानी भनेर चिनिने दक्षिण क्षेत्रका लाखौँ नागरिक लाभान्वित हुने भएका छन् । करिडोर हुँदै बुटवल, पाल्पा, नारायणगढ, मुस्ताङ र सदरमुकाम कुश्मा जाने यात्रुलाई समेत सहज हुने भएको छ ।

निर्माण कम्पनीले सडक चौडा गर्ने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्ने गरी विसं २०७७ भदौ १२ गते सझौता गरेको थियो । रु २१ करोड ९८ लाख छ हजार एक सय ९० मा साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएकामा ५० प्रतिशतमात्र काम भएको उनले बताए । 

विस्फोट गरेर बाटो निर्माण गर्नुपर्ने हुँदा काममा केही ढिलाइ भएकाले एक वर्ष समय थपेर काम अगाडि बढाइएको उनले बताए । यस्तै मिर्मी-सेतीबेनी सडककै तीन किमी काष्ठमण्डप-कली-मनकामना जेभीले रु आठ करोड ८६ लाख ८७ हजार सात सय ७१ मा सम्झौता गरेको छ । विसं २०७७ माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्र गरी ३० महिनामा सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेकामा ६५ प्रतिशत काम सकेको आयोजनाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ