arrow

मधेस प्रदेश सरकारबाट हात झिकेपछि वस्तुस्थिति बुझ्न हानिए केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
kp-sharma-oli-new-2078-12-09.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मधेस प्रदेशबाट एमाले सरकार बाहिर आएपछि एमाले अध्यक्ष केपी शर्मा ओली बाराको सिमरा हुँदै पर्सा पुगेका छन् । मिसन ग्रास रुट अभियान अन्तर्गत पर्सा गए पनि समग्रमा मधेस प्रदेशमा एमालेको वस्तुस्थितिबारे बुझने र बारा क्षेत्र २ मा एमाले पछिल्लो अंक गणितबारे जानकारी लिने उद्धेश्य रहेको छ । 

बारामा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग नगरेपछि यादवले एमाले मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेकाले मधेस प्रदेशमा एमाले सरकार बाहिर बसेको हो । मंगलबार नै उनीहरुले राजीनामा दिएका थिए । 

सत्ता गठबन्धन दलहरूले मंलवार संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख १० गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन अपील गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र लोसपा नेपालले संयुक्त विज्ञप्ति जारी गरेपछि एमालेले भने आफ्नै उम्मेदवारलाई र सहयोग गर्न खटिएका शीर्ष नेताहरुलाई निर्वाचन  क्षेत्रभन्दा बाहिर नजान निर्देशन दिएको छ । 

गठबन्धन दलहरूले गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पङ्क्ति एकीकृत रूपमा परिचालित हुन आग्रह गरे लगत्तै एमालेका सबै नेताहरु निर्वाचन क्षेत्रमा परिचालित भैसकेका छन् । 

अध्यक्ष ओली बुधबार दिनभर नै मधेस प्रदेशमा विभिन्न कार्यक्रममा सहभागी हुने र त्यहाँको पार्टीको अवस्थाबारे बुझ्ने भएका छन् । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको विषयमा पनि एमालेका अध्यक्षले मधेसमा रहेका आफ्ना नेताहरुसँग छलफल गर्ने भएका छन् ।  

नेकपा एमालेले मंगलबार समर्थन फिर्ता लिएर मन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेस सरकारमा जाने तयारी गरेको हो । शुरुमा सरकार नछाड्ने अडानमा रहेको एमालेले सरकारको समर्थन फिर्ता लिएको हो । 

केन्द्रीय गठबन्धनमा भएको फेरबदलको असर प्रायः सबै प्रदेश सरकारमा परेको थियो । मधेस प्रदेश सरकारमा सहभागी रहेको नेकपा एमाले सरकारबाट बाहिरिएको हो । 

पुस २७ गते जसपा नेतृत्वको सरकारलाई समर्थन गरी एमाले सहभागी भएको थियो । एमाले संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार एमालेबाट मन्त्री बनेका चार मन्त्रीसहित एक राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाइसकेका थिए । 

भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादव ,गृह तथा सञ्चार मन्त्री सत्रुधन सिंह कोइरी ,महिला बालबालिका तथा खेलकुद मन्त्री जैद आलम ,कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले राजीनामा बुझाएका थिए । 

मधेस प्रदेशमा एमालेले सभामुखसहित चार मन्त्री र एक राज्यमन्त्री पाएको थियो । एमाले सरकारबाट हटेपछि केन्द्रमा सत्ता साझेदार रहेका दल नेपाली कांग्रेस र एकीकृत समाजवादी, लोसपा सहभागी हुने तयारीमा छन् । एमाले मधेस प्रदेशमा २३ सांसदसहित ठूलो दल हो । यो विषयमा पनि एमालेले जोडघटाउ गर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ