arrow

‘कोशी’ मा माओवादीको दोधारे नीति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
maobadi-kendra-maoist-centre.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्वमा पहिचानको आन्दोलन चर्किदै गएपछि नेकपा माओवादी केन्द्रले आन्दोलनलाई आफ्नो समर्थन रहेको बताएर दोधारे नीति लिएको छ । प्रदेश सरकारले नाम तय गर्ने बेलामा चुपचाप समर्थन गरी संसदबाट नाम पास गरेपछि गल्ती भयो भन्दै अहिले दोधारे नीति लिएको छ । 

माघको पहिलो साता नै माओवादीको समर्थन कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीले त्यसको प्रकृया अघि बढाएका थिए । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषयमा चाँडै नै प्रदेशको नामकरण टुंगो लगाउनु पर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुरा गरिसकेका थिए । त्यसै अनुसार प्रदेशका नेताहरुले यसलाई संसदमा लगेर कोशी नामकरण गरिदिए ।

तर माओवादी अध्यक्ष प्रचण्डले आफूहरु अहिले पनि पहिचानकै पक्षमा रहेको बताएर आफ्नो दोधारे व्यवहारलाई ढाकछोप गरिरहेका छन् । बुधबार अपरान्ह पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका उनले कोशी प्रदेश नाम राख्दा गल्ती हुन पुगेको र अब सच्याउने बताएर आन्दोलनलाई शिथिल बनाउन खोजेको आन्दोलनकारीहरुको बुझाइ छ । 

पूर्व १ नम्बर प्रदेशमा नामकरणको विषयमा हामी पहिचानको अडानमै छौँ भन्दै  उनले बैठकमा ब्रिफिङ गरेका थिए । ‘त्यो प्रदेशमा रहनु भएका साथीहरुबाट कोशी नाममा निर्णय गर्ने बेला अडान लिन सक्नु भएन,’ उनको समर्थनलाई प्रदेशका साथीहरुलाई दोष दिएर आफू जोगिन खोजेको बैठकमा सहभागी एक नेताले भने । 

अहिले पनि माओवादी पहिचानको मुद्दाबाट तलमाथि नहुने बताएर बैठकमा अन्योल सिर्जना गरिदिएका थिए । ‘तर म तपाईंहरुलाई के विश्वस्त गराउन चाहन्छु भने हाम्रो पार्टी अहिले पनि पहिचानको मुद्दाबाट तलमाथि हुँदैन र हुने छैन’, उनले त्यस क्रममा भने । 

गत फागुन १७ गते प्रदेश १ को नाम कोशी प्रदेश जुराउँदा प्रस्तावक रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो । ९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा मत विभाजनका क्रममा दुई तिहाइका लागि ६२ मत आवश्यक रहेकोमा प्रस्तावको पक्षमा सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा तथा विपक्षमा नेकपा एकीकृत समाजवादीका चार सदस्यले मतदान गरेका थिए । 

पहिचान पक्षधरहरुले किराँतसहितका नाम अघि सारेर आन्दोलन चर्काइरहेका बेला प्रचण्डले उनीहरुलाई आफ्नो पक्षमा पार्न यस्तो नाटक गरेको आन्दोलनकारीको दाबी छ । 

कोशीले पहिचान पक्षधहरुको भावनामा ठेस पुगेको भन्दै एक महिनादेखि लगातार आन्दोलन चलिरहेको छ । माओवादीले जनयुद्धदेखि नै जातीय पहिचानसहितको पक्षमा आफूलाई उभ्याउँदै आएको थियो । 

‘प्रदेशका नाममा माओवादी सबै ठाउँ चुकेको छ तर पनि पहिचानको पक्षमा रहेको अध्यक्षले बैठकमा ब्रिफिङ गर्नुभयो’, बैठकमा सहभागी एक नेताले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ