arrow

रिसायो चीन, ताइवान पठायो युद्धपोत

ताइवानी राष्ट्रपतिले अमेरिकी सभामुखलाई भेटेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
china-military-drills-taiwan.jpg

काठमाडौं । चीनले ताइवानको टापु वरपर युद्धपोतहरू खटाएको छ । चीनको चेतावनीका बाबजुद ताइवानी राष्ट्रपति साई इङ वेनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले विमान र युद्धपोत खटाएको हो । 

ताइवानको रक्षा मन्त्रालयका अनुसार एक चिनियाँ विमान र तीन युद्धपोतहरू आज बिहान ६ बजे स्वशासित टापुको वरपर फेला परेका छन् । यता ताइवानले पनि चीनलाई जबाफ दिन सैनिक खटाएको छ । रक्षा मन्त्रालयका अनुसार यी गतिविधिहरूको जवाफ दिन क्याप विमान, नौसेना जहाजहरू र भूमिमा आधारित मिसाइल प्रणालीहरू खटाइएको छ। सशस्त्र बलहरूले स्थितिको अनुगमन गरिरहेका छन् । 

अमेरिकी सभामुख म्याकार्थी र ताइवानका राष्ट्रपति वेनबीच बुधबार क्यालिफोर्नियामा भेटवार्ता हुने निश्चित भएपछि चीनले त्यसको विरोध गरेको थियो । ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा बुधबार ताइवानी नेताले सभामुख म्याकार्थीसँग रोनाल्ड रोगन पुस्तकालयमा द्विपक्षीय बैठक गरेकी थिइन् । 

गत वर्ष पूर्व सभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो । 

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्य भूमिमा विलय गर्न सक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ