- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दमौली। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई द्रुत गतिमा अगाडी बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई द्रुत गतिमा अगाडी बढाउनुपर्ने अवस्था रहेको बताए ।
गण्डकी प्रदेशको लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको गति अति सुस्त रहेकाले त्यतातर्फ सरकारको तर्फबाट गर्नुपर्ने सबै काममा सहयोग हुने मन्त्री ज्वालाले बताए । “दुई खण्डमध्ये पश्चिमखण्ड (पोखरा–जामुने) को काम पछाडि परेको अनुगमनपश्चात् जानकारीमा आयो, केही ठाउँमा सामान्य काम बाहेक अन्य काम अगाडी बढ्न सकेको रहेनछ,” ज्वालाले भने, “सरकारका तर्फबाट अलिकति प्रयत्न गर्दा काम समयमै सकिने तर्फ हामी गम्भीर छ ।”
राजमार्ग विस्तारका क्रममा के के समस्या छन्, त्यस्ता समस्या समाधानका लागि सरकारले सहयोग गर्ने मन्त्री ज्वालाले बताउनुभयो । उहाँले भने, “स्थलगत निरीक्षणपश्चात् जहाँ जहाँ समस्या छ त्यहाँको समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहन्छ । छलफल गरेर समस्या पहिचान गरी समाधान गर्छौ ।”
सडकको काम समयमै सम्पन्न गर्नका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गरिने बताउँदै ज्वालाले निर्माण कम्पनीलाई सहयोग र निर्देशन दुवै रहने बताए । “निर्माण कम्पनीलाई के सहयोग गर्नुपर्छ, सबै गर्छौ तर काममा ढिलासुस्ती भए खबरदारी पनि सँगै गर्छौ,” ज्वालाले भने ।