arrow

सुडानमा कम्तीमा १८५ को मृत्यु, १८ सय घाइते, सबै नेपाली सुरक्षाकर्मी सकुशल

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
sudan-agitation.jpg

काठमाडौं । अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् । त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

केही समयदेखि त्यहाँ फैलिएको हिसात्मक घटनामा हालसम्म एक सय ८५ जनाको ज्यान गइसकेको छ भने एक हजार आठ सय व्यक्ति घाइते भएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यहाँ जारी द्वन्द्व समाधानका लागि दुवै प्रतिद्वन्द्वी नेतालाई टेलिफोन गरी युद्धविरामका लागि अपील गरेका छन् । तथापि एसएएफ र आरएसएफ दुवै पक्ष युद्धविरामको सम्मान गर्न असफल भइरहेका छन् । एसएएफ सीडीआरले राजधानी र अन्य क्षेत्रलाई सुरक्षित गर्ने काम भने जारी राखेको छ ।

सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १८५ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युद्धविरामको घोषणा गरिए पनि मङ्गलबार भएको झडपमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ ।    सुडानको राजधानी खार्तूमको मध्य भागमा रहेको सेनाको जनरल कमाण्ड नजिकै बुधबार पनि हिंसात्मक विष्फोट हुँदा झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 सुडानी सेनाले आरएसएफको नयाँ आक्रमणको प्रतिकार गरिरहेको बुधबार पुष्टि गरेको छ । सुडानी सेनाका प्रवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शत्रुले ठूलो जनधनको क्षति बेहोर्नुका साथै थुप्रै लडाकू सवारी साधन नष्ट गरेको छ ।”

प्रत्यक्षदर्शीका अनुसार खार्तूम विमानस्थलमा इन्धन ट्याङ्की विस्फोट हुँदा ठूलो धुवाँको मुस्लोले ढाकेको थियो ।  खार्तूमको उत्तरमा रहेको कफौरी क्षेत्रमा रहेको आरएसएफ क्याम्पमा बुधबार बिहान पनि हिंसात्मक झडप भएको थियो । 

दुवै पक्षले मङ्गलबार अन्तर्राष्ट्रिय पक्षले प्रस्ताव गरेको २४ घण्टे मानवीय युद्धविरामका लागि प्रतिबद्धता जनाए पनि देशमा अझै पनि लडाइँ जारी छ ।

सुडानमा गत अप्रिल १५ देखि खार्तूम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच सशस्त्र झडप भइरहेको छ र दुवै पक्षले एकअर्कालाई द्वन्द्व सुरु गरेको आरोप लगाउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ