arrow

उपनिर्वाचनमा आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ७ बिहिबार
press-council.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । प्रेस काउन्सिल नेपालले यही बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपील गरेको छ ।

काउन्सिलले बिहीबार  विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध शुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्नअङ्कित झण्डा र ब्यानर, श्रव्यदृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन–प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै त्यस्तो कार्य नगर्न–नगराउन सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको हो ।

निर्वाचन आचारसंहिता लागू भएपछि काउन्सिलले गरेको अनुगमनका क्रममा आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई आज २४ घण्टे स्पष्टीकरण सोधेको काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमबाट चुनावी विश्लेषणका नाममा कुनै राजनीतिक दल र उम्मेदवारको पक्षपोषण हुने गरी सामग्री सम्प्रेषण भएको पाइएपछि काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई २४ घण्टे पत्र काटेको हो ।

काउन्सिलले सञ्चारमाध्यम, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन अपिल गर्दै निर्वाचन स्वच्छ र  मर्यादितरूपमा सम्पन्न गर्न सघाउन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ