arrow

गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ८ शुक्रबार
dadhelo.jpg

गुल्मी ।  गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका-३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल, पाल्पामा मृत्यु भएको हो ।
 
गए राति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जङ्गलमा लागेको आगो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो । मुखियाको उपचारकै क्रममा बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।

सोही ठाउँमा आगलागीमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ । 

यसैबीच इस्मा गाउँपालिकामा बिहीबार भएको आगलागीबाट दुई घर र तीन गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका-५  दमारका शिवलाल कुमाल र रुद्रबहादुर कुमालको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सामुदायिक वनबाट लागेको आगो बिहीबार अपराह्न एक्कासी गाउँ पसेपछि घरगोठसहित अन्न र लत्ताकपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिए । 

दुई सातादेखि गुल्मीका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा आगलागी हुँदा आगो निभाउन स्थानीयवासी, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलार्ई हम्मेहम्मे भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ