arrow

भारतमा उपचारपछि फर्किए कांग्रेस नेता भण्डारी, आगलागीका घटना कम गर्न पैरवी गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
chandra-bhandari-2080.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्नस् सेन्टरमा उपचारपछि आइतबार स्वदेश फर्किएका छन् । 

गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते भएका भण्डारी भारतको मुम्बईमा अढाइ महिना उपचार गरेर आइतबार साँझ नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्किएका हुन् । 

स्वदेश फर्केसँगै डा भण्डारीले एक विज्ञप्ति जारी गरी आफ्नो उपचारमा सघाउनु हुने र स्वास्थ्य लाभ गर्ने सबैलाई धन्यवाद दिएका छन् । डा. भण्डारीले पछिल्लो समय नेपालमा आगलागीको घटनाबाट बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउनु परेको बताउँदै यस्ता घटनालाई कम गर्न आफूले निरन्तर पैरवी गर्ने बताए । 

“राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हरेक वर्ष २०७९ सालमा आगलागीको घटनाबाट एक सय १० जनाले ज्यान गुमाउँदा मेरो आमाको ज्यान गुमेकाले अब त्यस्ता घटना हुन नदिन दक्ष जनशक्तिसहित सुविधा सम्पन्न अस्पताल निर्माणमा सरकारले ध्यान दिनुपर्छ, कमसेकम प्रत्येक प्रदेशमा एक–एकवटा वर्न अस्पताल निर्माण गर्नुपर्छ”, डा भण्डारीले भनेका छन् । 

सांसद भण्डारीले ‘आगामी दिनमा कुनै नेपालीले आगोमा जल्न नपरोस्, आगालागीमा परेको कुनै नेपालीले मर्न नपरोस्’ आफ्नो आगामी अभियान हुने बताए । उनले खाना पकाउने ग्यासलगायत हुने आगलागीका घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न जनचेतनामूलक अभियान तथा अभ्यासलाई तीव्रता दिनुपर्ने बताए । 

आगामी दिनमा आगलागीबाट हुने घटना कम गर्न नीति निर्माणका तहमा वा अन्य कुनै पनि ढङ्गले योगदान गर्न सके आफ्नो आमाप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।

गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी र उनकी आमा हरिकला भण्डारी आगलागीको घटनामा परी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते बिहान निधन भएको थियो भने डा भण्डारीलाई सोही दिन नै थप उपचारका लागि भारत लगिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ