भ्रष्टाचारविरुद्ध आन्दोलनमा नागरिक, गगन, विश्वप्रकाश, रविको पनि समर्थन
माइतीघर मण्डलामा बिहान ११ बजे र नारायणचौरमा दिउँसो १२ः३० बजे कार्यक्रम
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३० शनिबार
715
Shares
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा उच्च तहका व्यक्तिहरुको संलग्नता देखिएपछि नागरिकहरू स्वस्फूर्त रुपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् ।
प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिन खबरदारीका लागि आज काठमाडौंको माइतीघर मण्डा र नक्सालस्थित नारायणचौरमा ‘भ्रष्टाचारविरोधी हामी’ भन्दै प्रदर्शन गरिँदै छ ।
माइतीघर मण्डलामा बिहान ११ बजे र नारायणचौरमा दिउँसो १२ः३० बजे कार्यक्रम राखिएको छ ।
यो विरोध कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, रास्वपा सभापति रवि लामिछाने, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, एमाले नेता ठाकुर गैरे, नागरिक अगुवाहरू प्राडा गोविन्द केसी, प्राडा. केदारभक्त माथेमा, भोजराज पोखरेल, देवेन्द्रराज पाण्डेलगायत सहभागी हुने प्रतिबद्धता जनाइसकेका छन् ।
कविद्वय विप्लव प्रतीक र अर्जुन पराजुलीले कविता वाचन गर्ने कार्यक्रम छ । यो नागरिक तहको ठूलो विरोध कार्यक्रममा सहभागी हुन कांग्रेस महामन्त्री थापा, रास्वपा सभापति लामिछाने, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले सामाजिक सञ्जालमार्फत नागरिकलाई आह्वान गरेका छन् ।
गगनले शुक्रबार नै लेखेका छन्– ‘भ्रष्टाचारविरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं। नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ। भोलिको कार्यक्रमहरु प्रति ऐक्यबद्धता ।’
रास्वपा सभापति लामिछानेले लेखेका छन्, ‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो। त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु।राम्रो काम जसले गरेपनि सघाउनु पर्छ।देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला।भ्रस्टाचार विरुद्ध एक हौं ।’