उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्र ढकाल भन्छन्, ‘अर्थतन्त्र अझै चुनौतीपूर्ण छ'
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
1.2k
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन्। इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले निजी क्षेत्रले अपेक्षा गरेजस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने जनाएका हुन।
‘केन्द्रीय बैङ्क, राष्ट्र बैङ्कले बैङ्कको कर्जामा पुनर्तालिकीकरण र पुनः संरचनाको सुविधा दिए पनि पाँच करोडमा मात्रै सीमित बनायो, असार मसान्तसम्म बैङ्कको कर्जामा पाँच करोडसम्मको मात्रै पुनर्तालिकीकरण र पुनः संरचनाको सुविधा पर्याप्त हुँदैन,’ उनले भने, ‘यस कारण पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले पनि निजी क्षेत्रलाई उत्साहित बनाउन सकेको छैन। ’
वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्नका लागि मौद्रिक नीतिको समीक्षा पर्याप्त नभएको उनको भनाई छ। जसका कारण अझै पनि मुलुक चुनौतीपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको उनको भनाई छ।
यद्धपी, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उद्योग वाणिज्य महासङ्घले दिएका सुझावहरू सम्बोधन भए पनि पूर्ण रूपमा लागु नगरिएको उनको गुनासो थियो।