arrow

लम्पसार परेर बाँच्नु नेपालीको अपमान हो – पूर्वराजा शाह [सम्बोधनसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
x-kinggyanendra-shah-2080.jpg

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् ।

आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । ‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो,’ उनले भने ।

एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनको आग्रह थियो । 

पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः

उपस्थित महिला तथा सज्जनवृन्द,
वीरेन्द्रनगर आएर तपाईहरुको न्यानो आत्मीयता पाउँदा मलाई धेरै खुशी लागेको छ । यो सुखद् क्षणमा तपाईहरुले दर्शाउनु भएको स्वागत् र सद्भावप्रति म कृतज्ञता ब्यक्त गर्दछु । 
प्राचिन कालमा एक विशाल तालका रुपमा रहेको यो सुर्खेत सुरदेवताको करुणाले पछि उर्वर खेत बनेको भनाइ रहेको छ । दैलेख, जारजरकोट, बाँके, बर्दिया, सल्यान, दाङ , डोटी अक्षाम र कैलाली गरी नौ जिल्लासंग जोडिएको र केन्द्रभागमा रहेको एक सुन्दर उपत्यका अहिले आध्ुनिक वीरेन्द्रनगर बनेको छ । 
आज भन्दा पचास बर्ष अघि नेपालको विकास प्रकृयामा  सन्तुलन ल्याउन पाँच विकास क्षेत्रको राष्ट्रिय दृष्टिकोण आदरणीय दाजु श्री ५ वीरेन्द्रले अघि सारिबक्सेको हो । धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायललाई केन्द्रविन्दू बनाएर सबै क्षेत्रको समानुपातिक विकासको अवधारणा परिकल्पना गरिबक्सेको थियो ।  
कर्णाली राजमार्ग, रत्न राजमार्ग, काक्री बिहार, बुलबुले ताल, कोठीकाँडा, लाटीकोईली, बयलकाँडा, सिद्धपाइला र वीरेन्द्रनगर शहरी संरचनालाई त्यही क्षेत्रीय विकासको अवधारणा बमोजिम नै अधि आएका हुन । क्षेत्रीय भ्रमण गरि सञ्चालित विकास कार्यको अनुगमन, निरक्षण र सुधार गर्दै जाने काम पनि हुँदै आएको हो ।
२०३० को दशक देखि नै शुरु भएका त्यस्ता सुखद  सपनालाई दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला सम्म फैलाउँदै ,फुलाउँदै जानु आवश्यक छ । देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व हो । 
यो दायित्वमा निरन्तर संगठीत र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धती हो । लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, बैज्ञानिकवाद, भौतिकवाद आदी जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो । विश्वब्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो । 
तर दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधी व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सहि र सार्थक भएको छ र ? हामी जहाँ जहाँ जान्छौ – जे जे सुन्छौं र जस्तो जस्तो देख्छौं – त्यसबाट थाहा पाउँछौं – आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो । नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरुले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन तव त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ , टिकाउको हँुदैन  । हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ । 
अनि हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीति थिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान – हाम्रो शान हो – आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो त्यसैले कसैको अगाडी लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँ जहाँ पुग्छौं – त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आवाज सुन्छौं । 
त्यसैले अब कसरी जाने , के कस्तो विधी व्यवस्था अंगाल्ने र हाम्रो गौरब गरिमालाई पुन ताजा रुपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने वेला आएको छ । अब सोचौं के गर्दा देशको राम्रो हुन्छ – अब सोचौं के नगर्दा देशलाई फाइदा हुन्छ । राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ । नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ । 
अब हामी भन्दछौं – मिलऔं, हामी सबै मिलऔं, त्यसैले हामी भन्दछौं – जुटौं, हामी सबै एक भएर जुटौं , त्यसैले हामी भन्दछौं – हामी नफुटौं र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौं । त्यसैले फेरी पनि भन्छौं  जुटौं, खटौं र डटौं, स्वधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ती एक साथ अघि बढौं । 
सबैमा फेरि एकपटक हाम्रो धन्यवाद 
जय नेपाल  
वीरेन्द्रनगर                                 मिति  २०८० साल ज्येष्ठ १३ गते 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ