गोविन्द भट्टराईले भने- चुनाव हार्दा पनि जिल्लाको विकास निर्माणमा मेरो प्राथमिकता हुनेछ
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
710
Shares
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा नरहने पनि जिल्लाको विकासमा आफ्नो ध्यान हुने बताएका छन्।
गत वैशाख १० गते सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भट्टराईले शनिबार आँबुखैरेनी गाउँपालिकामा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा आफूले कहिल्यै पनि पदलाई प्राथमिकतामा नराखेको उल्लेख गरे ।
“निर्वाचन लोकतान्त्रिक पद्धति हो, यो पद्धति ल्याउन देशमा ठूलो बलिदान र सङ्घर्ष गरेका छौँ”, उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताबाटै नेता छान्ने प्रणालीको संस्थागत विकास गर्न सफल भएका छौँ ।” नेता भट्टराईले निर्वाचनमा जित हार सामान्य भएको बताउँदै यसलाई खासै ठूलो कुरा मान्न नहुने उल्लेख गरे ।
भट्टराईले भने, “पञ्चायती निरङ्कुशताविरुद्ध राजनीति सुरु गरेको हुँ, पदका लागि राजनीति गरेको होइन । मैले चुनाव हार्दा पनि जिल्लाको विकास निर्माणमा मेरो प्राथमिकता हुनेछ ।”
भट्टराईले उपनिर्वाचनमा विजय हासिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्लेलाई बधाई दिँदै उनको काम हेर्न बाँकी रहेको जिकिर गरे । उनले भने, “हामीले बहुसङ्ख्यक मतदातालाई बुझाउन सकेनौँ, मतदाताको मन जित्न सकेनौँ ।”