- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्र र लोकतन्त्रप्रति वितृष्ण जगाउने काम भइरहेको भन्दै यी प्रयासहरू सफल नहुने दाबी गरेका छन् । गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुने बताए ।
उनले भने,' गणतन्त्रमै वितृष्णा जगाउने र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कसरत देखिएको छ । यी प्रयासहरू कदापि सफल हुने छैनन् । किनभने लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुनसक्छ ।’
प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताए। उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी छ । लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक हो । तर महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुन सके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिन्छ ।
प्रधानमन्त्री प्रचण्डले संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने बताए । उनले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने बताए । उनले भने,' जबसम्म जनताको जीवनस्तर सुधार ल्याउने काममा योगदान गर्दैन, मुलुकको राष्ट्रिय स्वाधीनतालाई संरक्षण र संवर्द्धन गर्ने काम गर्दैन, परिवर्तन अधुरो रहन्छ । संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन । '
यसलाई मनन गरी जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिवद्धताकासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो प्रधानमन्त्रीले औँल्याए । उनले भने,' आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य पनि प्रमाणित हुँदैन । यसलाई मनन गरी जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिवद्धताकासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो छ ।'