arrow

गैरआवासीय नेपाली नागरिकता विधेयक प्रमाणीकरण भएसँगै हर्षित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
NRNA_1618131765.jpg
तस्बिर – फाइल ।

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ । 

सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।

नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उनको भनाइ छ । 

“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ”, कार्यकारी अध्यक्ष डा केसी भने, “विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौँ ।”

विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागिसमेत ठोस वातावरण तयार पार्ने उनको विश्वास छ । 

सङ्घले नागरिकता विधेयकालाई निष्कर्षमा पुर्याउन भूमिका निर्वाह गरेकामा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सम्पूर्ण राजनीतिक दललगायत कानुनविद्प्रति कृतज्ञता व्यक्त गरेको छ । 

राष्ट्रपति पौडेलले आज नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ