केसीको जीत, युद्ध हार्नेहरु अख्तियारको पञ्जामा, कार्कीको जागिर संकटमा
काठमाडौं । पटक–पटक सत्याग्रह छेडेका गोविन्द केसीले अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसकै दिन सदाचार सम्मान थापेका छन् । कुनै स्वार्थ नराखि भन्ने हो भने केसी सदाचारीमात्रै ठहरिएनन् । उनले युद्ध जितेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका वरिष्ठ चिकित्सक डा.केसीलाई पटक–पटक चिकित्सा क्षेत्रको अनियमितता र भ्रष्टाचारविरुद्ध भोक हड्ताल गर्दै आए ।
अस्थिर दलीय सरकारले पटक–पटक केसीसंग बार्गेनिङ्गको सौदावाजी गरे । तर उनले राखेका माग पूरा भएनन् । पछिल्लो समय आन्दोलन छेडेका उनले मधेस आन्दोलन र भारतीय नाकाबन्दीले नागरिकले पाएको सास्तीलाई मध्यनजर गर्दै अनसन तोडेका थिए । भ्रष्टाचारविरुद्धको युद्ध अझै जारी छ । तर, केसी विजयी यात्रामा छन् भन्दा फरक पर्दैन । जसकारण उनी यस वर्षको राष्ट्रिय सदाचार सम्मान–२०७२ बाट सम्मानित भए ।
ट्रान्सफरेन्सी इन्टरनेसनल नेपालले डा. केसीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा आफनो जीवनको प्रवाह नगरी उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले डा. केसीलाई सम्मान गरे । सम्मानमा दोसल्ला र आकर्षक ताम्रपत्र प्रदान गरियो ।
संस्थाले दिवसका अवसरमा प्रत्येक वर्ष समाजमा सदाचार निर्माण गर्न र भ्रष्टाचार नियन्त्रण गर्न योगदान गर्ने विशिष्ठ व्यक्तिलाई सम्मान गर्दै आएको छ । यसअघि यो सम्मान पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।
सम्मानपछि डा. केसीले आम नेपालीको गुणस्तरीय स्वास्थ्य र शिक्षामा समान पहुँच हुनुपर्नेमा जोड दिदै मुलुक सञ्चालन गर्ने नेता र शासकमा राम्रो नेतृत्व नभएकै कारण भ्रष्टाचार मौलाउँदै गएको टिप्पणी गरे । जबसम्म स्वास्थ्य र शिक्षा क्षेत्र राजनीतिकरणबाट मुक्त हँुदैन तबसम्म भ्रष्टाचार निर्मूल नहुने केसीको भनाई छ ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा.केदारभक्त माथेमाले अहिलेको अभावमा कालोबजारी र भ्रष्टाचार मौलाएको बताउँदै यसको अन्त्यका लागि सामाजिक सुरक्षा र सार्वजनिक सेवालाई प्रभावकारी बताइनुपर्नेमा जोड दिए ।
कार्कीको जागिर संकटमा
पछिल्लो समय संवैधानिक आयोग अख्तियारले केही सक्रियता बढाएपछि मेडिकल माफिया र भ्रष्ट राजनीतिज्ञहरु नाङ्गिएका छन् । उनीहरुले उल्टै अख्तियारलाई झुटो आँक्दै आएका छन् । डा. केसीले कारबाहीको माग गरेका केही व्यक्तिहरु कारबाहीको घेरामा परेका छन् । जसले युद्ध हारिसकेका छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीप्रति भ्रष्टाचार आरोपी र दलीय रोष बढ्दै गएको छ । त्यति मात्र नभई कार्कीलाई महाभियोग लगाएर पद मुक्त गर्ने सम्मको रणनीति बन्दै गएको संकेत आएको छ । यद्यपि, कार्कीले आफु पदमा नरहेपनि कसैलाई नछोड्ने उदघोष गरेका छन् ।
कार्कीले भ्रष्टाचार दिवसको अवसरमा आफु पद समेत दाउमा राख्न तत्पर रहेको उद्घोष गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले अझै पनि समाजका ६० प्रतिशत व्यक्तिलाई अख्तियारले कारबाही गर्न नसक्ने बताए । जुन व्यक्तिलाई कारबाही गर्ने प्रक्रिया मिलाउन अख्तियारलाई निकै कठिनाई छ । कार्कीका अनुसार दलका शीर्ष कोही नेताहरु बच्ने छैनन् । भारतको अन्धभक्त मानिने कार्की एकाएक सक्रिय हुनु र राजनीतिज्ञहरुलाई झम्टिनुमा निकै अर्थ छ । अबको लडाँई सामान्य नहुने जानकारहरुको अड्कल छ ।