arrow

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्छ : अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३२ बिहिबार
chandra-dhakal-fncci-ippan.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताउँदै ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्ने बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) को २१औँ वार्षिक साधारण सभालाई  बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले अहिले कुल जडित क्षमताको दुई तिहाइ भन्दा बढी उत्पादन निजी क्षेत्रले गरिरहेको र निजी क्षेत्रको उल्लेखनीय प्रवेशले ऊर्जा क्षेत्रलाई आकर्षक बनाएको बताएका हुन्।

तर, कतिपय अवस्थामा प्रसारण लाइन तथा अन्य समस्याका कारण निजी क्षेत्रद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको र नीतिगत अवरोधहरूका कारण उत्पादकले उत्पादित विद्युत् समेत विक्री गर्न नसकेको बताउँदै निजी क्षेत्रको उत्साहलाई कायम राख्न नीतिगत अवरोधहरू तत्काल हटाउनुपर्ने बताए।

जलविद्युत् विकासको कुरा दशकौँदेखि गरिआए पनि पछिल्लो दशकमा भएको प्रगति उल्लेखनीय छ। राज्यबाट थोरै मात्र सहयोग भए पनि निजी क्षेत्र फस्टाउन सक्छ भन्ने उदाहरण जलविद्युत्, सिमेन्ट लगायत क्षेत्रमा देखिएको छ, उनले भने। उनले अबको केही वर्षमा ऊर्जा उत्पादनले तीव्रता पाउने विचारसमेत व्यक्त गरे।

“अहिले नै करिब ७ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणको चरणमा छ। विद्युत् खरिद सम्झौता खुकुलो हुँदा थप लगानीकर्ता आउने सम्भावना बढेको छ,” उनले भने।

ऊर्जा निर्यात विदेशी मुद्रा आर्जनको माध्यम बन्न सकेको विषय अत्यन्त सुखद रहेको बताउँदै भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली लिने प्रतिबद्धता जनाएको जानकारी गराए।

हालैको विम्सटेक मिटिङ्गका क्रममा पनि नेपालको विद्युत्को बारेमा कुरा उठेको बताउँदै उनले नेपाललाई दक्षिण एशियामात्र नभई दक्षिण पूर्वी एशियाको समेत ब्याट्रीको रूपमा विकास गर्ने सम्भावना रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ