arrow

ऐनापहराको झरना गणेशको शिरबाट, पर्यटकको घुइँचो

logo
सोनी शर्मा,
प्रकाशित २०८० असार ५ मंगलबार
aaina-pahara-jharana-tanahu.jpg

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ भएर यात्रा गर्ने हरेक हरेक यात्रुको ध्यान तान्ने ऐना पहरा झरना अब गणेश भगवानको शिरबाट झर्ने भएको छ। 

पृथ्वी राजमार्ग भएर आवत जावत गर्ने करिब पाँच हजार सवारीसाधान र त्यसमा सवार यात्रुको ध्यान आकृष्ट गर्ने ऐना पहरामा गणेश भगवानको शिरबाट झर्ने झरना, काखमा बच्चा लिएको आमाको आकृति, परी लगायतको स्वरूप निर्माण कार्य भइरहेको छ। 

तनहुँको आँबुखैरेनी गाउँपालिका वार्ड नम्बर २ र ५ को सीसिमानामा रहेको ऐनापहरालाई थप आकर्षक बनाई गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय स्थल बनाउन विभिन्न आकृति निर्माण कार्य शुरु गरिएको हो ।

पहराको चट्टानमा आकृति कुद्न गाउँपालिकाले स्थानीय कालिगढ प्रयोगगरी निर्माण कार्य घमाधम भइरहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । 

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार १० करोड रुपैयाँ बजेट आवश्यक पर्ने भन्दै चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ विनियोजन गरीएको चुमानले बताए । 

 देश विदेशमा चट्टान खोपेर बनाइएको आकृतिले पर्यटक लोभ्याउने गरेको भन्दै प्राकृतिक छटाले भरिपूर्ण ऐना पहरामा मूर्ति बनाएर आन्तरिक एबम् बाह्य पर्यटक भित्राउने सोचका साथ पहरामा भगवानका साथै विभिन्न आकृति बनाउन शुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । 

बर्खायाममा उच्च गतिमा बग्ने झरनामा भिडिओ, टिकटक बनाउन सर्वसाधारणको निकै भीड भिड लाग्ने गरेको र उक्त भीडलाई लक्षित गर्दै गणेश भगवानको शिरबाट झरना बग्ने मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना पनि निर्माण गर्न लागिएको छ ।

तनहुँकै अग्लो छिम्केश्वरीको फेदीको सिउँढी खोलाको पानी पहरामा ठोक्किँदा निकै आकर्षक देखिने झरना र पहारालाई थप आकर्षक बनाउन विस्तृत गुरुयोजना तयार भएको गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले बताए । 

ऐना पहरामा बहुवर्षीय योजना अन्तर्गत साहसिक खेल, सिसाको पुल, जिपलाइन, स्वीमिङ पुल, ढुङ्गामा आकर्षक मूर्ति निर्माण लगायतका संरचनाका लागि डीपीआर गरी प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ