arrow

लोपोन्मुख डङ्गर गिद्ध मरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
vulture-died-3.jpg

नवलपरासी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा लोपोन्मुख डङ्गर जातका गिद्ध मृत फेला परेका छन् । जिल्लाको कावासोती नगरपालिका–३, स्थित नमूना सदरमुकामको केरुङ्गे खोला नजिक चारवटा गिद्ध मृत पेला परेको संरक्षणकर्मी डिबी चौधरीले बताए ।

बिहीबार साँझ गिद्ध मृत अवस्थामा फेला परेका हुन् । गिद्ध विषाक्त मासु खाएका कारण मरेको हुन सक्ने संरक्षणकर्मी चौधरीले बताए । “चारवटा गिद्ध मृत भेटिएका छन्, विषाक्त खानाकै कारण मरेको अनुमान छ”, संरक्षणकर्मी चौधरीले भने । साँझको समय भएको र चारवटा गिद्ध फेला परेको भए पनि अन्य गिद्धसमेत मरेको हुन सक्ने उनले बताए । 

गिद्ध मरेको स्थानमा स्याल जस्तो देखिने जनावर मरेको अवस्थामा फेला परेको उनले बताए । सोही जनावरको मासु खाएकाले मरेको हुन सक्ने अनुमान गरिएको उनले बताए । गिद्ध मरेको विषयमा पशु प्राविधिकले अनुसन्धान गरिरहेको उनले बताए । गएको फागुन महिनामा समेत यसै क्षेत्रमा स्यालको विषाक्त मासु खाएर पाँचवटा गिद्ध मरेका थिए । नमूना सदरमुकाम निर्माण स्थल क्षेत्रमा रहेका सिमलका रूखमा गिद्धको बासस्थान रहेको छ । 

हाल गिद्ध मरेको स्थान गिद्ध संरक्षण गरिएको जटायु रेष्टुरेन्टदेखि करिब छ किलोमिटरको दूरीमा समेत पर्दछ । कावासोतीकै पिठौलीमा गिद्ध संरक्षण गरिएको छ । संरक्षण गरिएका गिद्धको आहार विहार गर्ने स्थान नजिक पटक पटक गिद्ध मर्दा संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मी एवं जटायु रेष्टुरेन्टका व्यवस्थापक डिबी चौधरीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ