arrow

संघीय हिन्दू गणतन्त्र स्थापनाको अवधारणापत्र सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
hindu-ganatantrik-dharana-2080-03-11.jpg

काठमाडौँ । राष्ट्रिय एकता अभियानले संघीय हिन्दू गणतन्त्र स्थापना गरेरै छाड्ने अवधारणा पत्र सार्वजनिक गरेको छ । आइतबार बत्तीसपुतलीमा आयोजित कार्यक्रममा राजनीतिक दलका नेताहरुसँगै अभियानका संयोजक विनय यादवले अवधारणा सार्वजनिक गरे । 

कार्यक्रमका प्रमुख अतिथि पूर्वउपराष्ट्रपति परमानन्द झाले दोस्रो जनआन्दोलनपछि निर्माण गरिएको अन्तरिम संविधानमा कसैलाई जानकारी नै नदिई धर्म निरपेक्षता घुसाइएको बताए । आफू तत्कालीन उपराष्ट्रपति हुँदा पनि आफूले पत्तो नपाएको उनले बताए। मुलुकमा संघीय हिन्दू गणतन्त्र स्थापना गर्न राष्ट्रिय एकता अभियानले अगाडि सारेको एजेन्डा सबै नेपालीको हृदयमा छुने खालको भएको उनले बताए । 

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले हाम्रो मुलुक बन्नुअघिदेखि नै सनातन संस्कार, संस्कृति र हिन्दूत्वको पदार्पण भएको बताए। तर, आफ्नो संस्कार र संस्कृतिलाई भुल्दै जाँदा दुःख पाउने अवस्थामा नेपाल र नेपाली रहेको उनले बताए ।  ‘हामीले हाम्रो सनातन धर्म, संस्कार, संस्कृतिको रक्षा गर्न सक्यौं भने संसारको सबैभन्दा शक्तिशाली मुलुक नेपाल बन्नेछ,’ उनले भने ।

लोसपा नेता तथा पूर्वमन्त्री अनिल झाले अभियानले संघीय हिन्दू गणतन्त्रको नयाँ अवधारणा ल्याएकामा शुभकामना दिए। ‘विगतमा हिन्दू धर्मलाई राजतन्त्रसँग जोडेर हेर्ने गरिएको थियो। वीरगञ्जमा नेपाल गेट बनाउँदा एकजना शंकराचार्यले दिएको मन्तव्यपछि सबैले त्यसलाई आ–आफ्नै प्रकारले परिभाषित गरे । 

त्यही विन्दुबाट यो देशको हिन्दूत्वलाई राजसंस्थासँग जोडियो । जब राजसंस्था गयो हिन्दूत्व पनि गयो,’ झाले भने, ‘ती दुवैलाई घाँटी नजोडिदिएको भए गणतन्त्र स्थापनापछि हिन्दुत्व नजान सक्थ्यो।’ राष्ट्रिय एकता अभियानको अवधारणाबाट हिन्दूत्व संघीयता र गणतन्त्रमा पनि एकाकार भएर अगाडि बढ्ने बाटो दिएको उनले बताए।

कार्यक्रमलाई किरात धर्मगुरु डा. चन्द्रकुमार शेर्माले आफ्नो अवधारणालाई अक्षरसः पालना गर्न अभियानसँग आग्रह गरे ।

यस्तै संविधान सभाका सदस्य तथा अभियानका वरिष्ठ नेता वीपी यादवले संघीय हिन्दू गणतन्त्रको अवधारणामा बहस छेडिनुपर्ने बताए ।  ‘सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्न, एउटा एजेन्डामा एकताका लागि यो विषय निकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘अहिले मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको छ। तर, मुलुक एकतातर्फ अगाडि बढेको छैन । यो मुलुकलाई एकताबद्ध बनाउनका लागि हामीले यो अभियान अगाडि बढाएका हौं ।’ हिन्दू धर्ममाथि चौतर्फी प्रहार भइरहेको उनले बताए ।

अभियानका अध्यक्ष विनय यादवले नेपाललाई जोड्ने आधार नै सनातन संस्कृति रहेकाले त्यसका जगेर्ना गर्दै मुलुक र मुलुकवासीलाई जोडिराख्न संघीय हिन्दू गणतन्त्र मात्र विकल्प रहेको बताए ।

 ‘जुन दिन सनातन संस्कृति समाप्त हुन्छ, त्यस दिन राष्ट्रिय एकता पनि समाप्त हुनेछ,’ उनले भने, ‘हरेक ४० किलोमिटरमा हाम्रो देशमा सांस्कृतिक विविधता छ। अलग–अलग संस्कार, संस्कृति र भेषभूषा छ। पूर्वदेखि पश्चिमसम्म विविधता छ। ती सबैलाई जोड्ने कडी सनातन संस्कृति हो र हिन्दू धर्म हो।’

हिन्दू धर्म मजबुत रहुन्जेल नेपालको राष्ट्रियता पनि मजबुत हुने उनले बताए ।  ‘राष्ट्रियता पसलमा खरिद गर्न मिल्ने वस्तु होइन, अनादिकालदेखि चलिआएको संस्कृति नै राष्ट्रियताको आधार हो,’ उनले भने, ‘नेपालमा अनादिकालदेखि चलिएको संस्कृति सनातन संस्कृति हो ।’

‘संघीय हिन्दू गणतन्त्र स्थापना नभएसम्म हामी चयनको निद्रा निदाउने छैनौँ । चयनसाथ भोजन गर्ने छैनौँ,’ उनले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ