arrow

विप्लवलाई महासचिव बनाउने प्रसङ्गले माओवादीमा हलचल, दोस्रो तहका नेताहरु सशंकित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ११ सोमबार
prachanda-biplab.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा समाजवादी मोर्चा बनेको छ । मोर्चाको बारेमा अनेकन टिप्पणी भैरहेको भए पनि माओवादीभित्र भने यसले हलचल पैदा गरेको छ । 

मोर्चामा सहभागी नेत्रविक्रम चन्दको विषयलाई लिएर हलचल भएको हो । माओवादी केन्द्रमा यतिबेला महासचिवमा देव गुरुङ क्रियाशील छन् । वर्षमान पुन र जनार्दन शर्माले महासचिवमा दाबी गरेपछि गुरुङलाई लटरी परेको थियो । तर विप्लवसहितको मोर्चा बनेपछि भने गुरुङ, पुन र शर्मा प्रचण्डसँग सशंकित बनेका छन् । 

माओवादीभित्रका नेताहरुले विप्लवलाई प्रचण्डले महासचिव दिएर पार्टी एकीकरण गर्न लागेको पनि आशंका गरेका छन् । केही दिनअघि विप्लवले पनि माओवादीको महासचिव मात्रै होइन अध्यक्ष नै हुने हो भनेपछि झन् तरंगित भएका छन् । 

माओवादीका कार्यकर्ताहरुले विप्लवलाई पनि पार्टीमा ल्याउनपर्छ भनिरहेका बेला प्रचण्डले अहिले भएका नेताहरुलाई ‘साइज’मा राख्न पनि विप्लवको साथ लिन सक्ने आशंका जन्मिएको हो । 

माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, एकीकृत समाजवादी र नेकपा मिलेर समाजवादी मोर्चा नेपाल गठन भएको छ । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति छ । 

अहिले मोर्चाको संयोजक प्रचण्ड आफैँ छन् । समाजवादी मोर्चाको वकालत गर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भने मोर्चामा समेटिएनन् । तर पनि पार्टी एकता गरेर बाबुराम पनि त्यसको संयोजक बन्ने दाउमा छन् । 

पछिल्लो समय विप्लवले प्रधानमन्त्री प्रचण्डलाई मोर्चा बनाउन साथ दिएकाले पनि माओवादीका दोस्रो तहका नेताहरुले बढी शंका गरेका हुन् । ‘माओवादी केन्द्रसँग एकता भए विप्लवलाई महासचिव बनाइउने संभावना छ’, विप्लव समूहका एक नेताले भने । 

ती नेताका अनुसार विप्लवलाई महासचिव बनाइएमा पार्टी एकीकरण हुनसक्छ । यद्यपि अहिलेको अवस्थामा विप्लव समूह सबैभन्दा बढी सम्पत्ति जोडेन पार्टीमा पर्छ । 

नवलपरासीमा पार्टीको केन्द्रीय कार्यालय निर्माणमा जुटेको विप्लव समूहले भूमिगत कालमा पार्टीका लागि धेरै सम्पत्ति जोडेकाले पनि माओवादीसँग एकीकरण हुँदैन कि भन्ने अनुमान गरिए पनि कार्यकर्ताहरुले माओवादीभित्र उचित जिम्मेवारी पाए जान हुने सुझाव दिइरहेका छन् । 

यता माओवादी कार्यकर्ताहरुले पार्टी क्षयीकरणको दिशामा गएकाले पार्टीबाट बाहिर रहेकाहरुलाई चाँडै ल्याउन जोडबल गरे पनि पुन, शर्मा र गुरुङ बाधक हुन सक्ने संभावना रहेको स्रोतको दाबी छ । 

अहिले विप्लव माओवादीसँग एकताको लागि तयार भए महासचिव बनाउने प्रचण्डको तयारी रहेको हल्ला गरिएको छ । पछिल्लो समय माओवादीहरुलाई एकताबद्ध बनाउने अभियानमा प्रचण्ड जुटिसकेका छन् । 

यसको लागि प्रचण्डका विश्वासपात्रको रुपमा कृष्णबहादुर महराले निर्णायक भूमिका खेलिरहेका छन् । विप्लवसँग महरा नै निरन्तर सम्वादमा छन् । विप्लवमा जनताको पनि समर्थन रहेकोले प्रचण्डले उनको साथ खोजेको चर्चा हुने गरेको छ । 

प्रचण्ड आगामी ०८४ को निर्वाचनमा ०६४ को निर्वाचनमा माओवादीले हासिल गरेको सफलता दोहोर्याउने चाहनामा विप्लवलाई पार्टीमा ल्याउने भन्दै एक प्रकारले पार्टीभित्र महासचिवका दुई आकांक्षी र अहिलेका महासचिवलाई तर्साइरहेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ