arrow

पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
Nepal-Telecom-NTC.png

पोखरा । नेपाल टेलिकम प्रादेशिक कार्यालय पोखराका निर्देशक ईन्दल यादवले पोखरामा टेलिकमले फाइभजी सेवाको परीक्षण गरिरहेको र काठमाडौंपछि सेवा विस्तारका लागि पोखरालाई प्राथमिकतामा राखिएको बताएका छन् ।

टेलिकमको प्रादेशिक कार्यालय पोखराको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित कार्यक्रममा यादवले यस्तो बताएका हुन् । टेलिकमले आम्दानीभन्दा पनि सञ्चारमार्फत् देशलाई जोड्ने काम गरिरहेको उनले जिकिर गरे ।

नेपाल टेलिकमले सेवाको गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै पछिल्लो समयमा जनतालाई सजिलो हुने गरी विभिन्न खाले सुविधाहरू थपिएको उनले स्पष्ट पारे । 

‘गुणस्तर सुधारको काम गर्दै जाँदा आइपर्ने सानो अवरोधले पनि हामी पीडित छौं’, उनले भने, ‘अहिले पोखराको महेन्द्रपुल क्षेत्रमा फाइभजी सेवा परीक्षण हुँदैछ ।’

टेलिकमले गुणस्तरीय सेवाका सम्पादन गरेका विभिन्न गतिविधिबारे जानकारी दिँदै उनले सोचेजस्तो गतिमा काम नभएको स्वीकार गरे । ‘काम गर्न अप्ठ्यारो छ । हाम्रोमा निर्णय प्रक्रिया नै ढिला छ । अर्कोतर्फ गुणस्तर सुधारको काम गर्दै जाँदा आइपर्ने सानो अवरोधले पनि हामी पीडित छौँ,’ उनले भने ।

उनले दुःखेसो पोखे, ‘कतै फाइबर बिछ्याउने काम गर्यो समन्वय हुँदैन, एउटा पोल गाड्न खोज्यो अवरोध हुन्छ । पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेकाले दिनदिनै तार चुँडिन्छ । सेवाग्राहीले हामीलाई कराउँछन् तर अन्य निकायले त्यो कुरा बुझ्दैनन् ।’

निर्देशक यादवले गण्डकीका २५ लाख १ हजार ८ सय ४२ जनाले टेलिकमको सेवा लिएको जानकारी दिए । गण्डकीमा पोस्टपेड मोबाइल चलाउने ७० हजार र प्रिपेड मोबाइल चलाउने २३ लाख ९२ हजार ५ सय ४ जना रहेको पनि उनले बताए ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय पोखराका व्यापार प्रमुख महेन्द्र रिमालले नेपाल टेलिकमको सहरदेखि गाउँसम्म पुगेको भन्दै सेवा सस्तो र भरपर्दो भएको बताए ।

उनले पछिल्लो समय नेपाल टेलिकमले प्रदान गरेको फाइबर टू होम (एफआइटीएच) बाट इन्टरनेट, टेलिभिजन र फोन सुविधा, अन्तर्राष्ट्रिय रोमिङ, कर्पोरेट युजर ग्रुप (सीयुजी) नमस्ते वाइफाइ, डेडिकेटेट लिज सर्भिस, नोटिस बोर्ड, टोल फ्रि नम्बरजस्ता सेवाबारे चर्चा गरेका थिए । टेलिकमले प्रदान गर्ने प्याकेजहरूले गुणस्तरमा सम्झौता नगर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताए । ‘सरकारी सेवा गुणस्तरी हुँदैन भन्ने भ्रम चिर्नुपर्ने यहाँहरूको दायित्व हो,’ उनले भने, ‘राज्यप्रतिको दायित्व टेलिकमले भुल्नुहुँदैन, अन्य कम्पनीसँगको प्रतिस्पर्धामा खरो उत्रनुपर्छ ।’

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाल टेलिकमकी सहायक व्यापार अधिकृत कविता श्रेष्ठ, पोखरा कार्यालय प्रमुख वसन्त माझीलगायतले टेलिकमको सेवा, सुविधा र समस्याबारे चर्चा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ