arrow

कोशीको कहर 

विश्वासको मतको प्रस्तावको पक्ष र विपक्षमा दलहरु विभाजित

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असार १४ बिहिबार
hikmatkumar-karki-koshi-chief-minister-2080-02-32.jpg

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्ष र विपक्षमा दलहरु विभाजित भएका छन् ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमाले र राप्रपाले सरकारको समर्थनमा विश्वासको मत दिने बताउँदा काँग्रेस, माओवादी केन्द्र, नेकपा एस विपक्षमा उभिने भएका हुन् । जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ ।

मुख्यमन्त्रीको प्रस्तावउपर छलफलमा भाग लिँदै नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले कार्की नेतृत्वको सरकारले सरकार चलाउन ढंग नपुर्याएको भन्दै समर्थन गर्न नसकिने बताए । 

विगतदेखि नै एमालेले आफूहरुलाई पेलिरहेको र सरकार चलाउने बेलामा पनि कुनै सोधिखोजी नगरेको गुनासो गर्दै भोट चाहिने बेलामा मात्रै सम्झेर समर्थन गर्न नसक्ने बताए । यस्तै राप्रपाका नेता अम्बरबहादुर विष्टले सरकारलाई पूर्ण समर्थन रहेको भन्दै विश्वासको मत दिने बताए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राजनीतिक परिस्थिति बदलिएपछि नयाँ निर्णयमा पुगिएको बताए । प्रदेशको नामकरणको विषयमा जनताको तहमा धेरै विरोध आएको भन्दै उनले पुनःविचार गरेर राजनीतिक निकस दिनुपर्ने बताए । 

तर मुख्यमन्त्रीले भनेजस्तो प्रदेशको आर्थिक अवस्था जर्जर नरहेको बताउँदै उनले ‘नाच्न नजान्नेले आँगन टेढो मात्रै देखेको’ बताए । बरु सरकार चलाउन जानिन भनेर राजीनामा दिन उनले मुख्यमन्त्री कार्कीलाई सुझाव दिए । उनले केन्द्र सरकारको विरुद्धमा एमालेले संघीय संसदमा खेलेको भूमिका कारण पनि प्रदेश सरकारबाट फिर्ता आउनु परेको बताए ।

यस्तै काँगेस संसदीय दलका नेता उद्धबबहादुर थापाले ६ महिनाको अवधिमा प्रदेश सरकारले प्रतिपक्षी नदेखेको बताए । आफ्नो पार्टी प्रतिपक्षमा रहेर पनि सरकारकै भूमिका जस्तो गरेर ६ महिना बिताएको र सरकारलाई सहयोग गरेको बताउँदै उनले राजनीतिक स्थिरता, सामाजिक स्थिरता, दलहरुबीचको सहकार्य होस् भन्ने अपेक्षा राखेको बताए । 

तर सरकारलाई सहयोग गर्दा गर्दै चलिरहेको संसद अचानक स्थगित गरेर सरकार आफैँ भागेको र अध्यादेशबाट बजेट ल्याएको उनले बताए । यही विषयले सरकार अलमलमा परेको र काम गर्न नसकेको पुष्टि हुने उनको दाबी थियो । 

मुख्यमन्त्रीले आव्हान गरेको सहमतीय सरकारको पहल अब ढिलो भइसकेको बताउँदै विश्वासको मत दिन नसक्ने बताए । विश्वासको मत लिने अवस्था छैन भने राजीनामा दिएर आगामी दिनमा बन्ने सरकार निर्माणमा बाटो खोल्न पनि उनले आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ