arrow

टिकुलीगढमा खडेरी: स्थानीयलाई ट्यांकरबाट पानी

logo
नारायण वली,
प्रकाशित २०८० असार १५ शुक्रबार
pani-tank-tilottoma.jpg

रुपन्देही । बिहानको पौने ९ बजेको थियो । घरघरबाट स्थानीयहरु हातहातमा पानीका भाँडाहरु समातेर हतार हतार लाइनमा लाग्दै थिए । कोही घरबाट आउने तयारीमा थिए । उक्त दृश्य हेर्दा आश्यर्य जस्तै देखिन्थ्यो । यो दृश्य हो तिलोत्तमा नगरपालिका वडा नं–१४ टिकुलीगढको । जहाँ हिजोआज खानेपानीको चरम समस्या त्यहाँका स्थानीयहरुले झेल्दै आएका छन् । लामो समय पानी नपरेको र खडेरीका कारण चापाकलहरु सुकेपछि स्थानीयहरु करिव एकमहिना यता पानीको जोहोमै दिन वित्ने गरेका वेला वडा न–१४ को पहलमा अहिले स्थानीयहरुका घरघरमा पानी पुग्न थालेको छ । 

खाली भाँडाहरु लिएर पानी भर्दै गरेकी स्थानीय सीता पुन खुसी देखिन्थिन् । खानेपानीको मार नराम्रो सँग खेपिरहेकी उनले भाँडाभरी पानी नि: शुल्क रुपमा भर्न पाउँदा मुहारमा चमक देखिन्थ्यो । 

स्थानीयहरुलाई खानेपानीको समस्या विकाराल बन्दै गएपछि तिलोत्तमा नगरपालिका वडा नं-१४ का वडाअध्यक्षको पहलमा ट्यांकरबाट घरघरमा पानी वितरण गरेर पानीको सहजता गराएको पाइएको छ ।

"पानीसमेत नपाएर मरिन्छ कि" भन्ने अवस्थाका नागरिकहरुलाई घरघरमा पानी पुर्‍याएर ठूलो राहत दिएको सीता पुनले बताइन् । 
 
सोही ठाउँकी कमला पाठक भन्छिन् –धारा सुकेको एक महिना भयो । पानी नआउँदा निकै समस्या भोग्नु परेको थियो । तर अहिले वडाको पहलमा हामीले पानी पाएका छौँ । हामी घर नभए पनि उहाँहरु आएर भाँडामा पानी भरेर राखिदिनु भएको हुन्छ ।

गाउँका चापाकलहरुमा पानी नआएपछि पिउने मात्रै हाइन शौचालयसमेत दुर्गन्धित भई झाडापखाला फैलिन सक्ने जोखिम बढेका बेला वडा कार्यालयद्धारा पानी वितरण हुँदा सहज रुपमा पानी पिउन र जोखिमबाट बच्न सफल भएको साथै पशुचौपाया समेतलाई खुवाउन सहिजो भएको स्थानीय हरिशंकर कोइरीले बताए ।   

पानी वितरण गर्दै हिँडेका फिल्डमा भेटिएका टिकुलीगढ टोल विकास संस्थाका सचिव यमबहादुर विष्ट क्षेत्रीले आफू शुरुदेखि नै स्थानीयहरुलाई पानी खुवाउन निरन्तर लागि परेको जनाए । उनले वडा कार्यालयले यसमा भरपूर सहयोग गरेको भन्दै गाउँमा ४ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको खानेपानी ट्यांकी हालसम्म पनि सम्पन्न नभएकाले यथाशिघ्र निर्माण सम्पन्न गर्न सरोकारवाला निकाय गम्भीर बन्न आग्रह गरे ।

टिकुलीगढ टोल विकास संस्थाका अध्यक्ष ओमप्रकाश चौधरीले आफूहरु खानेपानीको समस्यालाई सहज गराउन अहिले ट्यांकरबाट पानी वितरण गर्दै आएको जनाउँदै आफ्नो गाउँमा झण्डै ३ सय ट्युवेलहरु रहेको र लामो समय पानी नपरेकाले चापाकलहरुमा पानी सुकेको दुखेसो सुनाए ।

स्थानीय युवा समाजसेवी अर्जुन क्षत्री (हापुले) खडेरीले पानीका मुहान सुकेपछि हाहाकार भएको खानेपानी समस्याको समाधान र स्थानीयहरुले खेप्नु परेको हैरानीलाई सहज गराउन आफूहरु दिनरात लागि परेको जनाए । उनले राति ११ बजेसम्म पानी वितरण गरेर घर जाने गरेको बताए । 

तिलोत्तमा नगरपालिका वडा नं१४ का वडाध्यक्ष अस्विन पौडेलले पानी नपरेपछि गाउँका चापाकलहरुमा पानी सुकेको र जसका कारण पानी नआएको बताए । स्थानीयहरुलाई पानी कसरी र कहाँबाट ल्याउने भन्ने समस्याले चिन्तित बनाएका बेला वडा कार्यालयको पहलमा नगरपालिकाको सहयोग र विभिन्न संघसंस्था, निजी कम्पनी र व्यक्तिगत गरी ४ वटा ट्यांकर प्रयोग गरेर खानेपानी वितरण गर्दै आएको जनाउँदै सहज वातावरण नहुँदासम्म पानी वितरणलाई जारी  राखिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ