arrow

केपीलाई सत्ताको पिरलो, एमाले नेताहरु काँग्रेससँग सहकार्य गर्नुपर्ने जोडमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
congress-uml-flag.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाहिर रहनुपरेको पीडाले पिरोल्न थालेको छ । गत पुस १० गते नयाँ समीकरण गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओलीले उनै प्रचण्डबाट धोका पाएपछि झन् सत्ता पीडित बनेका छन् । 

सातै प्रदेशबाट एमाले बाहिर छ भने संवैधानिक तहबाट पनि बाहिर रहने अवस्था आउन लागेको छ । तर नेपाली काँग्रेस र एमालेको सहकार्य हुने विषयमा केही दिन यता एमालेका नेताहरुले अभिव्यक्ति दिइरहका छन् । 

उनीहरुले मुलुकका दुई ठूला दल मिलेर सरकार बनाउँदा अन्य बिचौली दलहरु बाहिर रहन सक्ने भन्दै काँग्रेसलाई आफ्नो पक्षमा पारेर एमाले सरकार जाने नयाँ दाउ खोजिरहेको छ । 

सोमबार मात्रै ओलीले राम्रो काम गरेबापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेर सरकार बाहिर रहनु परेको पीडा पोखेका थिए । ‘देश समृद्धि होस्, जनता सुखी रहुन्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाइ थियो ।

आफू सरकारमा सहभागी भएको बेला शुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याउने लगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहोर्याएका थिए । 

ओलीले सिधै सरकारमा सहभागी हुने बारेमा केही बताएका छैनन् । तर एमालेका अन्य नेताहरुले भने वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गर्दै काँग्रेस र एमालेको सहकार्यमा जोड दिन थालेका छन् । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दुई ठूला दलबीचको सहकार्य आवश्यक रहेको बताउँदै आएका छन् । ‘हामी नेपाली काँग्रेससँग बसेर छलफल गर्न तयार हुन्छौँ सबैभन्दा पहिले एजेन्डाको कुरा हो, सरकार परिवर्तनको कुरा होइन पछिल्लो जल्दोबल्दो दृष्टिकोणमा काँग्रेसको दृष्टिकोण के हो ? काँग्रेस कसरी अगाडि बढ्न चाहन्छ आगामी बाटो ठीक भयो भने त्यसपछि छलफलको सार्थकता हुन्छ एजेन्डा बिनाको सरकार परिवर्तनले केही हुँदैन’, उनले भने ‘एमालेसँग बसेर काँग्रेस छलफल गर्न तयार छ त ?’

ज्ञवालीले दुई दलका नेताहरुबीच कहीँ कतै बसेर छलफल गर्ने हो भने सबै विषयहरु निष्कर्षमा पुग्ने दाबी गरेका छन् । त्यसैगरी एमालेका अन्य नेताहरुले पनि काँग्रेस एमालेबीचको सहकार्यले मात्रै मुलुकलाई स्थायित्व दिने बताउँदै आएका छन् । 

एमाले सचिव रघुवीर महासेठले दुई दलका नेताहरुबीच छलफल गर्ने वातावरण बनेमा सरकार गठन लगायतका विषयमा पनि छलफल हुन सक्ने बताउँछन् ।

‘एमालेमात्रै चाहेर हुँदैन, काँग्रेस अहिले एउटा गठबन्धनमा रहेको छ उसले त्यो गठबन्धनबाट सन्तुष्टि प्राप्त गरेको छ छैन भनेर उसकै धारणा आयो भने एमाले त सधै छलफलमा बस्न तयार छँदैछ’, सचिव महासेठले भने । 

एमालेका नेताहरुले लोकतन्त्र र संविधान रक्षाका लागि काँग्रेस र एमालेबीच छलफल हुनुपर्ने, लोकतन्त्रका लागि लड्दै आएको काँग्रेस र एमालेबीच सहकार्य आवश्यक रहेकोसमेत बताउन थालेका छन् ।

दुई पार्टीको सहकार्य भएमा अन्य दलहरुलाई आगामी चुनाव एक्लै लड्न भिड्न पनि समस्या हुने राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ