arrow

कोशी सरकार

सभामुखको संख्या जोडेर गरिएको दाबीलाई स्वीकार नगर्न प्रदेश प्रमुखसँग एमालेको दबाब  

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असार २१ बिहिबार
uml-koshi-2080-03-21a.jpg

मोरङ । कोशी प्रदेश सरकार गठनको लागि विपक्षी गठनबन्धनले सभामुख समेतको संख्या जोडेर दाबी गर्न लागेको भन्दै त्यसलाई स्वीकार नगर्न नेकपा एमालेले प्रदेश प्रमुखलाई दबाब दिएको छ ।

सभामुख बाबुराम गौतमलाईसमेत गणना गरी गठबन्धनले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न लागेको भन्दै एमाले संसदीय दलका नेता तथा कामचलाउ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएका हुन् ।

दलका नेताको तर्फबाट ध्यानाकर्षणपत्र एमालेले बुझाएको भएपनि राप्रपा संसदीय दलका नेता एवं प्रदेश सरकारका मन्त्री भक्तिप्रसाद सिटौलासमेतको उपस्थिति रहेको थियो । सभामुखले दल परित्याग गरी स्वतन्त्र हैसियतमा बसेको अवस्थामा गठबन्धनका तर्फबाट गणना गर्न नमिल्ने एमालेको जिकिर छ ।

आफूले असार १५ गते विश्वासको मत लिँदा ४६ मत प्राप्त गरेको जनाउँदै आज गठबन्धनले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको दाबी पेश गर्न लागेकोमा सभामुखलाई गणना नगर्दा बहुमत संख्या पुग्न नसक्ने कार्कीको दाबी छ । 

सभामुखलाई गणना गर्दा संविधान, कानुन, संसदीय मूल्य मान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवम् अभ्यास विपरीत हुने भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गरिएको एमालेले जनाएको छ ।

यता काँग्रेस नेतृत्वको गठबन्धनले ४ः३० बजे प्रदेश प्रमुखकोमा पुगेर नेताहरूले दाबी पेश गर्ने भनेका छन् । प्रदेश प्रमुखले साँझ ५ बजेसभित्रको समय दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ