arrow

वडाध्यक्ष गुरुङ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
Ram Bahadur Gurung.jpg

पोखरा । कास्कीको माछापुच्छ्र्रे गाउँपालिका वडा नं ८ का अध्यक्ष रामबहादुर गुरुङ पक्राउ परेका छन् । 

खोरामुख-इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको आरोपमा वडाध्यक्ष गुरुङ पक्राउ परेका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष भण्डारीले वडाध्यक्ष गुरुङले आफूमाथि हातपात गरेको भन्दै इलाका प्रहरी कार्यालय बगरमा जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा वडाध्यक्षलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए । 

वडाध्यक्ष गुरुङले भने सामान्य विवादमा धकेलाधकेल भएको तर हातपात नगरेको बताउँदै आएका थिए । आर्थिक वर्ष सकिन लाग्ने बेलासम्म काम सकिने छाँटकाट नदेखेपछि उपाभोक्ता समितिका अध्यक्ष भण्डारीसँग सामान्य भनाभन भएको उनले बताए । 

वडाध्यक्ष गुरुङ कांग्रेस नेता हुन् भने उपभोक्ता समितिका अध्यक्ष भण्डारी नेकपा एमालेका नेता हुन् । वडाध्यक्ष गुरुङले आफू छलफलका लागि तयार रहेको भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए । 

वडाअध्यक्ष गुरुङले जनताको सेवा ढिला गर्नेहरुकोबिरुद्ध चौकी हैन जेल बस्न तयार रहेको भन्दै फेसबुक स्टाटस लेखेका छन् । 

उनले लेखेका छन्,’ ‘विकासको काममा किन ढिलाइ गरेको कारण उपभोक्ता समितिसँगको विवादमा थुनामा जानु पर्ने रैछ ! म जनताको सेवा ढिला गर्नेहरुको विरुद्ध चौकी हैन जेल बस्न तयार छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ