arrow

उज्यालो गण्डकी प्रदेश घोषणालाई प्रभावकारी बनाउन आवश्यक : मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
Surendra panday-kulman ghising.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन विद्युत् प्राधिकरणको सहयोग आवश्यक भएको बताएका छन् ।

मुख्यमन्त्री पाण्डे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्बीच गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत् पुर्याउने विषयमा आज भएको भेटघाट एवं छलफलमा उनले उक्त कुरा बताएका हुन् ।

गण्डकी प्रदेशका ९९ दशमलव ५ प्रतिशत घरमा विद्युत् पुगिसकेकाले बाँकी घरमा विद्युतीकरणका लागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने बताउँदै उनले ग्रिड लाइन, लघु जलविद्युत् र सौर्य ऊर्जाबाट पनि विद्युतिकरण भएको र सकेसम्म सबै ठाउँमा ग्रिडलाइन विस्तार गर्नेगरी अघि बढ्नुपर्ने बताए । 

पछिल्लो केही समय यता विद्युत् छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो आउने गरेको बताउँदै उनले त्यसबाट उद्योग, व्यापार, व्यवसायमा समस्या आउने भएकाले समाधानतर्फ ध्यान दिन उनले अनुरोध गरे । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा मुख्यमन्त्री पाण्डेले चासो लिएका थिए ।

पृथ्वी राजमार्ग, मध्यपहाडी सडकलगायत सडक विस्तार भएका ठाउँमा पोल स्थानान्तरण नहुँदा दुर्घटना हुन सक्ने खतरा रहेको बताउँदै उनले त्यसतर्फ विद्युत् प्राधिकरणले ध्यान दिनुपर्नेमा जोड दिए ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पुर्याउन दुर्गम ठाउँमा लघु जलविद्युत्, सौर्य ऊर्जा पनि प्रभावकारी हुने बताउँदै प्राधिकरणले ग्रिड लाइनबाट विद्युत् पुर्याउने गरी काम अघि बढाइरहेको जानकारी दिए । 

उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सबस्टेशन निर्माण, ग्रिड लाइन विस्तारको काम अघि बढिरहेको उनले मुख्यमन्त्री पाण्डेलाई जानकारी गराए । 

बूढीगण्डकी आयोजना नेपालका लागि आवश्यक र गौरवको परियोजना भएकाले छिटो निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने र त्यस्तो हुन नसकेको बताउँदै उहाँले प्रक्रिया भने अघि बढीरहेको बताए । 

प्राधिकरणको प्रादेशिक कार्यालयमार्फत सडक विस्तार भएका ठाउँका जोखिम पोल तत्काल स्थानान्तरण गरिने बताउँदै उनले सडकले स्थानान्तरण गर्ने उपयुक्त ठाउँ नदिँदा समस्या हुने गरेको, जङ्गल क्षेत्रमा रुख काट्ने अनुमति ढिला हुँदा लाइन विस्तारमा देशभर जटिल समस्या देखिएको बताए ।  

भेटघाटमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख जगदीशचन्द्र जोशीलगायत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ