- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राप्रपा नेपालले राजसंस्थासम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकताबारे पार्टीको नीतिमा पुनर्विचार गरिने बताएका थिए ।
थापामाथि पूर्व राजा ज्ञानेन्द्र शाहबाट सञ्चालित राप्रपाको अध्यक्ष हुँदा आफ्नो खुशी काम गर्ने गरेको आरोप समेत लागेको थियो । थापालाई पार्टी सञ्चालन गरि राजसंस्थाको पक्षमा निर्णय देखाउन पुर्वराजा ज्ञानेन्द्र शाहले मौका दिए पनि थापा आफै चुकेका थिए ।
आइतबार बसेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गर्ने निर्णय गरेको हो । उक्त बैठकले उपाध्यक्ष प्राडा विष्णुबहादुर भण्डारीको संयोजकत्वमा प्रतिवेदन पेस गर्न समिति गठन गरेको हो ।
समितिको सदस्यमा केशवराज श्रेष्ठ, वसन्तमानसिंह अधिकारी, हिक्मतबहादुर ढकाल, प्रा नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्यसचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेको सो पार्टीले जनाएको छ ।
समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको राप्रपा नेपालले जनाएको छ । आइतबारकै बैठकले सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धनका लागि राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निर्णय गरेको छ ।
यसैगरी पार्टीसँग आबद्ध भ्रातृ सङ्गठनहरू राष्ट्रिय खेलकुद सङ्गठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान सङ्गठन नेपालको अध्यक्षमा डम्बरप्रसाद शिवाकोटी, सदस्यसचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम सङ्गठन नेपालको अध्यक्षमा मोहम्मद खालिद इकबाल इराकीलाई जिम्मेवारी तोकिएको छ ।
साथै पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० साल भदौको दोस्रो हप्ता काठमाडाँैमा बोलाउने निर्णय गरिएको प्रवक्ता वसन्तमानसिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।