arrow

मुख्यमन्त्री चौधरीको योजना, दुई लाखलाई रोजगारी 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असार २५ सोमबार
dilli-chaudhary-2080-03-24.jpg

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिने योजना बनाएको बताएका छन् । 

नेपाल प्रेस युनियन बाँके शाखाले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले दुई लाखलाई रोजगारी दिने गरी आगामी आर्थिक वर्ष २०८०–८१ का लागि १ अर्ब छुट्याइएको जानकारी दिँदै यसका लागि संघीय सरकारबाट थप रकम माग गरिएको बताए । 

उनले लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनलाई ब्राण्डिङ गर्ने गरी काम गरिरहेको बताए । पत्रकारहरुको जिज्ञासामा चौधरीले साउनमा सरकारले पूर्णता पाउने बताए ।

उनले लुम्बिनीका १२ जिल्लालाई त्यहाँको संस्कार र संस्कृति अनुसार विभिन्न सांस्कृतिक हबका रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको बताए । दाङ, बाँके र बर्दियालाई थारु सांस्कृतिक हबका रुपमा विकास गरिने चौधरीको भनाइ छ । 

चौधरीले बाँकेलाई शैक्षिक हब बनाउने गरी बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालाय स्थापना गरिएको जानकारी दिँदै समग्र प्रदेशको शिक्षा विकासको जिम्मेवारी अब बाँकेको काँधमा आएकोसमेत बताए ।

 यसअघि बाँके र बर्दियाले कम बजेट पाएको गुनासो गर्दै आएकोमा यसपटक बाँके र बर्दियालाई यथेष्ट बजेट विनियोजन गरेर न्याय गरेको मुख्यमन्त्री चौधरीको भनाइ छ । उनले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नलाई स्काइ ब्रिज बनाइने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ