arrow

कोहलपुरलाई हरित शहरमा बदल्ने मुख्यमन्त्री चौधरीको दाबी 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असार २५ सोमबार
delhi-chaudhary-2080-03-25a.jpg

नेपालगञ्ज । विकसित बन्दै गएको कोहलपुरलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हरित शहरका रुपमा विकास गरिने प्रतिबद्धता जनाएका छन् । 

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति अन्तरगत बाँकेको कोहलपुरस्थित कोहलपुर नेपालगन्ज सडकको साझा चोकदेखि हाइस्कुल चोकसम्म आज आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा सहभागी मुख्यमन्त्री चौधरीले सिमेन्ट र सरियाको सहर भन्दा पनि कोहलपुरलाई हरियाली सहरको रुपमा चिनाउनुपर्ने बताए । 

‘अहिले सिमेन्ट र सरियाले शहरको हरियाली उजाडिएको छ’, उनले भने, ‘कोहलपुर नगरपालिकाले हरित नगरका लागि थालेको अभियानमा प्रदेश सरकारको पूर्ण साथ छ । कोहलपुर प्रदेशको हरियाली नमूना शहर बन्नुपर्छ ।’ 

उनले त्यसका लागि नगरबासीको पनि सहयोग हुन जरुरी रहेको औंल्याए । ‘बोटबिरुवा रोप्नु मात्र ठूलो कुरा होइन, संरक्षण महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘संरक्षणमा स्थानीयबासीले सहयोग गर्नुपर्‍यो ।’ 

उनले घरघरमा रोप्ने बिरुवा र सडक सडकमा रोप्ने बिरुवाको पहिचान गरेर मात्र वृक्षरोपण गर्न पनि सुझाव दिए । ‘नगरलाई हरित नगर बनाउनुको विकल्प छैन’, उनले भने, ‘तर बोटबिरुवा रोप्दा जनताले रुचाएका बिरुवा रोप्नुपर्छ । यसले बिरुवा संरक्षणमा स्थानियको चासो बढ्छ ।’

उनले घरमा फलफूलका बिरुवा रोप्न सुझाव दिंदै यसले पोषणमा पनि सुधार ल्याउने धारणा व्यक्त गरे । 

लुम्बिनी प्रदेश सदस्य सन्जुकुमारी चौधरीले कोहलपुरलाई हरित नगर बनाउने सवाल प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै रोपिएका बिरुवाको संरक्षण र सम्बर्द्धनमा स्थानीय सरकारले जोड दिनुपर्ने बताइन् । 

अर्का प्रदेश सदस्य जन्मजय तिमिल्सिनाले कोहलपुर नगरपालिकामा थालिएको हरित नगर अभियानले कोहलपुरलाई नमूना सहर बनाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । 

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागि परेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । 

आचार्यले बिगतका स्थानीय सरकारले पनि नगर क्षेत्रमा बोटबिरुवा रोपेको भएपनि ती बोटबिरुवा हुर्कन नसक्दा अहिले विज्ञहरुको सुझाव र माटोको ल्याव परिक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको जानकारी दिए । बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिँदै उनले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न नगरबासीलाई आह्वानसमेत गरे । 

कार्यक्रममा नगर उपप्रमुख संगीता सुवेदी, राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका वोर्ड सदस्य भेषराज आचार्य, राष्ट्रपति चुरे(तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाई कैलालीका प्रमुख हरिबंश आचार्य लगायतले बोलेका थिए । उक्त खण्डमा कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिका तीन सय बिरुवा रोपिएको नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए । 

कोहलपुर नगरपालिकाको ३ लाख २५ हजार, राष्ट्रपति चुरे(तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाई कैलालीको ३३ लाख ४८ हजार र त्यसमा १० प्रतिशत जनश्रमदानमा बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष रामु लम्सालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ