११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकी राष्ट्रको भ्रमणमा
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
1.1k
Shares
काठमाडौं। इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबारदेखि अफ्रिकाको भ्रमणमा छन् ।
केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ भनेका छन् । एघार वर्षपछि इरानी राष्ट्रपतिको यो पहिलो अफ्रिका भ्रमण हो ।
रायसीले इरानका विदेशमन्त्री र वरिष्ठ व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । उनले तीनवटै देशका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले राष्ट्रपतिको यो भ्रमणलाई ‘नयाँ मोड’का रूपमा वर्णन गर्दै त्यसले अफ्रिकी राष्ट्रहरूसँग आर्थिक र व्यापारिक सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
इरानले हालैका महिनामा आफू एकाकी नरहेको सन्देश अन्तरराष्ट्रिय सुमदायलाई दिन तथा अमेरिकी नाकाबन्दी, आणविक सम्झौताको असफलतालगायत विषयको प्रभावबारे जानकारी दिने उद्देशयले कूटनीति गतिविधि बढाएको छ ।
शनिबार राष्ट्रपति राईसीले अल्जेरियाका विदेशमन्त्री अहमद अत्ताफलाई अल्जियर्ससँगको सम्बन्ध बढाउने सम्बन्धमा सघन संवाद गरेका थिए ।