arrow

‘श्रीपती समाज सेवा पुरस्कार’ विन्ध्यवासिनीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
Shreepati guthi.jpg

पोखरा । चौथो ‘श्रीपती समाज सेवा पुरस्कार’ पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने भएको छ ।

पोखरास्थित श्रीपति कोइराला गुठीले बुधबार २१६ औं श्रीपति जयन्तिको अवसरमा उक्त पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति प्रदान गर्ने घोषणा गरेको हो । 

पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रुपैयाँ नगदसहित सम्मानपत्र र पदक रहेको संस्थाका अध्यक्ष फणीन्द्रराज कोइरालाले जानकारी दिए । पुरस्कार छनोट समितिमा प्र.डा. दिलबहादुर क्षेत्री, गेहेन्द्रेश्वर कोइराला। प्रा. डा. विश्वकल्याण पराजुली, अशोक पालिखे, पत्रकार दीपेन्द्र श्रेष्ठ र बिमला भण्डारी रहेका थिए ।

पुरस्कार गुठीको ३१ औं वार्षिक साधारणसभामा प्रदान गरिने गुठीका अध्यक्ष कोइरालाले जानकारी दिए । यस पुरस्कार यसअघि माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र र सर्लाहीको पद्य भवानी नमुना आश्रमलाई प्रदान गरिएको थियो । 

विन्ध्यवासिनी नेपालको प्रमुख शक्ति पीठहरुमध्येको एक हो । नेपाली र भारतीयहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको विन्ध्यवासिनी मन्दिर हिन्दू मात्र नभई गैर हिन्दूसमेतको आस्थाको प्रतिकको रुपमा रहेको छ ।

धार्मिक क्षेत्र विकास समितिले विन्ध्यवासिनी मन्दिरको संरक्षण, विकास, विस्तार एवं सौन्दर्यकरणमा सक्रिय रहँदै आएको छ । समितिले मन्दिरको संरक्षण र विकाससँगै सामाजिक सेवालाई पनि उत्तिकै प्राथमिकताका साथ काम गर्दै आएको छ ।

विन्ध्यवासिनी धार्मिक विकास अन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप र पूजा मण्डप, विद्यावासिनी बैद्धिक विद्याश्रम, विभिन्न देवी देवताका मठ मन्दिरहरु रहेका छन् । सिमितिले विन्ध्यवासिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासीयरुपमा सञ्चालन गर्नुका साथै जेष्ठ नागरिक सेवा केन्द्रकोरुपमा दिवा सेवासमेत सञ्चालन गर्दै आएको छ ।

समिति अन्तर्गत प्राकृतिक चिकित्सालय निर्माणधिन अवस्थामा छ । सर्वशुलभ रुपमा एम्बुलेन्स प्रदान गर्नुका साथै शारीरिक असक्षमता भएका नागरिक र जेष्ठ नागरिकका लागि मन्दिर दर्शका लागि लिफ्टसमेत सञ्चालन गरिएको छ । 

समितिले धर्म सँस्कृति संरक्षणका लागि धार्मिक कथा वाचन सञ्चालन गर्दै आएको छ । टाढा टाढाबाट आउने साधु सन्त तथा दर्शनार्थीहरुका लागि आवास तथा भोजनको व्यवस्था गरेर समाजमा उत्कृष्ठ सामाजिक सेवा प्रदान गरेको भन्दै यस वर्षको श्रीपती समाज सेवा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीका सचिव नवराज कोईरालाले जानकारी दिए ।

पत्रकार कार्कीलाई श्रीपति सामाजिक पत्रकारिता पुरस्कार

यस वर्षको ‘श्रीपति सामाजिक पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नारायण कार्कीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि २२ हजार २२२ रुपैयाँ नगद रहेको छ । यो पुरस्कार प्रथम पटक पत्रकार कृष्णप्रसाद बास्तोलालाई प्रदान गरिएको थियो । 

२०२९ सालमा राससबाट पत्रकारिता शुरु गरेका कार्कीले पत्रकारितामा पाँच दशक बिताईसकेका छन् । हाल उनी विविसी नेपाली सेवाको गण्डकी प्रदेश ब्यूरो प्रमुखका रुपमा कार्यरत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ