arrow

जयनगर–जनकपुर–कुर्था–बिजलपुराको ५२ किलोमिटर रेल सेवा सरर [फोटोफिचरसँगै भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
jaynagar-bijalpura-rail.jpg

धनुषा । जयनगर–जनकपुर–कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बिजलपुरा जयनगर रेल सेवाको उद्घाटन गरे । 

दिउँसो १ः३० बजे बिजलपुरा रेल्वे स्टेशनमा मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । जनकपुरधामको कुर्था जक्सनदेखि महोत्तरीको बिजलपुरासम्म रेल सेवा विस्तार गर्न रेललाई नव दुलहीझैँ सिंगारिएको थियो ।

रेल हेर्न स्थानीयको घुँइचो लागेको थियो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको थियो । 

थप १७ किलोमिटर भएपछि अब महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुई सेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा आएको थियो । शुरुमा दुई पटक मात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाह पञ्चमीको बेलादेखि आउने जाने गरी चार पटक सञ्चालनमा थियो । 

सोमबारदेखि भने थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीन पटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागका महाप्रवन्धक निरञ्जनकुमार झाले  बताए । 

भङ्गाह स्टेशनबाट मात्र दिनको दुईपटक अर्थात् बिहान र साँझ सेवा दिने छ ।

२१ वर्षपछि महोत्तरीको बिजलपुरासम्म रेलसेवा पुनः सञ्चालन भएसँगै स्थानीय खुशी भएका छन् । संघीय सरकारका भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाले रेलको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि रेलले बिजलपुरा स्टेसन हुँदै जयनगरतिरको यात्रा गरेको छ । जयनगर पुगेपछि रेल आइतबार नै भंगाहा स्टेसनमै आएर बस्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

जनकपुरसम्म रेल सेवा सञ्चालन गरेको १५ महिनापछि बिजलपुरा स्टेसनसम्म रेल सेवा सञ्चालन गर्न रेल्वे कम्पनी सफल भएको रेल्वेका महाप्रबन्धक निरञ्जनकुमार झाले बताए । 

भारतीय रेलवे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेलवे ट्र्याक गत जेठ १८ मा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक झालाई हस्तान्तरण गरेको थियो ।

अहिले जयनगर–बिजलपुरा स्टेसनसम्म प्रतिदिन एक पटक रेल सेवा सञ्चालन गर्ने तयारी रहे पनि यात्रुको मागअनुसार सेवा थप गर्दै जाने योजना रहेको झाको भनाइ छ । 

रेलवे कम्पनी नयाँ रेल खरिदको प्रक्रियामा पनि रहेको उनले बताए । अहिले जयनगर–जनकपुर–कुर्था ३५ किलोमिटर रेलखण्डमा प्रतिदिन दुई पटक रेलसेवा सञ्चालन भइरहेको छ । अब जयनगर–बिजलपुरासम्म रेल सञ्चालन गर्दा जयनगर–जनकपुर–कुर्थामासमेत एक पटक सेवा थप हुने रेलवे कम्पनीले जनाएको छ ।

जयनगरदेखि बिजलपुरा–बिजलपुरा स्टेसनसम्म ५२.३ किलोमिटर रेलखण्डमा अब रेल सञ्चालन हुने भएको छ । कुर्थादेखि भङहा सम्मको १७.३ किलोमिटर खण्ड भारतीय रेलवे कम्पनीले हस्तान्तरण नगर्दा रेल सञ्चालनमा आउन सकेको थिएन । 

बिजलपुरादेखि बर्दिवास खण्डको काम भने अझै अघि बढ्न सकेको छैन । यसअघिको मुआब्जा विवाद सल्टिसकेकाले अब छिट्टै काम सुरु हुने र दुई वर्षभित्रै बर्दिवाससम्म रेल सञ्चालन गर्ने तयारी रहेको महाप्रबन्धक झाको भनाइ छ ।

पहिले काठको रेल्वे लिकमा फलामको साना डब्बाका रेल महोत्तरीको बर्दिवास–बिजलपुरा स्टेसनसम्म सञ्चालन हुने गरेको थियो । 

नेपाल–भारत सम्झौताअनुसार काठ र जडीबुटी नेपालबाट भारत लैजाने र भारबाट उपभोग्य सामग्री नेपाल ल्याउने गरी रेल सञ्चालनमा थियो ।

उद्घाटन समारोहमा मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने, भारतीय दूतावास काठमाडौँका डीसीएम प्रसन्न श्रीवास्तव, भारतीय वाणिज्य महादूतावास वीरगञ्जका महावाणिज्य दूत नितेश कुमार, नेता सुधीर साह, भङ्गाहा नगरपालिकाका मेयर संजिव साह लगायतको सहभागिता थियो ।

 

rail-jaynagar-janakpur-bijulpura (1).jpg
rail-jaynagar-janakpur-bijulpura (2).jpg
rail-jaynagar-janakpur-bijulpura (3).jpg
rail-jaynagar-janakpur-bijulpura (4).jpg
rail-jaynagar-janakpur-bijulpura (5).jpg
rail-jaynagar-janakpur-bijulpura (6).jpg
rail-jaynagar-janakpur-bijulpura (7).jpg
rail-jaynagar-janakpur-bijulpura (8).jpg
rail-jaynagar-janakpur-bijulpura (9).jpg
rail-jaynagar-janakpur-bijulpura (10).jpg
rail-jaynagar-janakpur-bijulpura (11).jpg
rail-jaynagar-janakpur-bijulpura (12).jpg
rail-jaynagar-janakpur-bijulpura (13).jpg
rail-jaynagar-janakpur-bijulpura (14).jpg
rail-jaynagar-janakpur-bijulpura (15).jpg
rail-jaynagar-janakpur-bijulpura (16).jpg
rail-jaynagar-janakpur-bijulpura (17).jpg
rail-jaynagar-janakpur-bijulpura (18).jpg
rail-jaynagar-janakpur-bijulpura (19).jpg
rail-jaynagar-janakpur-bijulpura (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ