- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।
यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए ।
यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन ।
“छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ”, उपाध्यक्ष डाँगीले भने ।
छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।
कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख विनियोजन गरेको छ ।
गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ ।-रासस