arrow

संवैधानिक परिषद् प्रधानन्यायाधीश सिफारिस गर्न असफल, अन्य नियुक्तिको विषय वाधक

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
sambaidhanik-parisad-baithak-2080-04-16.jpg

काठमाडौँ । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक बिना सिफारिस स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा अन्य रिक्त संवैधानिक परिषद्मा पनि नियुक्ति गर्नुपर्ने भन्ने विषय छिरेपछि प्रधानन्यायाधीशमा सिफारिस नगरी बैठक टुङ्गिएको थियो । 

परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज कुनै निर्णय नभएकाले अर्को बैठक बिहीबार बस्ने गरी टुङ्गिएको जानकारी दिए । उनले अन्य रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसको विषय प्रवेश गरेसँगै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुन नसकेको बताए । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्नुपर्ने थियो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका हुन् । 

खासमा भएका प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर त्यो व्यवस्था लत्याउँदै समय निकै घर्केपछि आज संवैधानिक परिषद्को बैठक डाकिएको थियो । तर यो बैठकले पनि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न सकेन । 

अब आगामी बिहीबार सहमति बन्ने विश्वास गरिएको छ । बिहीबार सााझ ५ बजेका लागि बैठक डाकिएको छ । 

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै घरबिदा लिएर बस्ने चलन छ । तर हालका प्रधानन्यायाधीश कार्की गत महिनामात्रै प्रधानन्यायाधीश नियुक्त भएका थिए । 

उनले प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि नै अवकाशको पत्र पाएका थिए । अदालतमा न्यायाधीशहरुकोसमेत नियुक्ति नहुँदा फैसलामा ढिलाइ भएको छ । 

कुनै फेरबदल नभए बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ । तर अन्य संवैधानिक निकायमा पनि नियुक्तिको कुरा उठेसँगै भागबण्डा मिलाउनु पर्ने देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ