arrow

मौरीको नश्ल सुधार कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
bee.jpg
तस्बिर-फाइल

तनहुँ । तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने भएको छ ।

व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

केन्द्रले मौरी, रेशम किरा र च्याउ गरी मुख्य तीन विषयमा अध्ययनसहित कार्यक्रम सञ्चालन गर्दै आएको निमित्त प्रमुख भवनाथ देवकोटाले जानकारी दिए ।

विभिन्न ठाउँबाट मौरी ल्याएर रानोसँग क्रस गराइने उनले बताए ।

उनले भने, “केन्द्रले मुख्य गरी मौरी, च्याउ र रेशम किरामा अध्ययन गर्दै आएको छ । यस वर्ष मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गरी कृषकलाई मौरीसमेत वितरण गर्ने कार्यक्रम छ ।”

चालु आवका लागि कार्यालयलाई रु दुई करोड ३५ लाख ८६ करोड बजेट विनियोजन गरिएको छ ।

त्यसमध्ये पुँजीगततर्फ रु ३० लाख ८० हजार र चालुतर्फ रु दुई करोड पाँच लाख छ हजार बजेट विनियोजन भएको छ ।

कार्यालयले चालु आवमा मौरीसहित घार, च्याउका बीउ वितरण गर्नुका साथै आवश्यक सीपसमेत सिकाउने कार्यालय प्रमुख देवकोटाले जानकारी दिए ।

उनका अनुसार कृषकलाई ५० प्रतिशत अनुदानमा तीन सय ६० मौरीसहिको घार वितरण गरिनेछ ।

त्यसका लागि रु १८ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै चार सय घारमात्र वितरण गर्नका लागि रु सात लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

उनले भने, “मौरीपालक कृषकलाई अनुदानमा घारसहितको मौरी, घारमात्रै वितरण गर्नुका साथै मौरीपालनका लागि आवश्यक तालिम पनि दिन्छौँ ।”

त्यस्तै च्याउ बीउ उत्पादनका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ ।

केन्द्रमा पहिलोपटक च्याउ प्रयोगशाला निर्माण गरिँदैछ ।

उनले भने, “च्याउको अध्ययनका लागि पहिलोपटक कार्यालयमै प्रयोगशाला निर्माण हुँदैछ ।”

देवकोटाका अनुसार व्यावसायिक कृषकका लागि च्याउ स्रोत केन्द्र निर्माणका लागि रु दश लाख सहयोग गर्ने कार्यक्रम रहेको छ भने च्याउ खेती तालिम पनि प्रदान रिनेछ ।

यसैबीच कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

दश जनाको दरबन्दी रहेको कार्यालयमा छ जना कार्यरत छन् ।

त्यसमाथि उपसचिव तहको कार्यालय प्रमुख नै रिक्त रहेको छ ।

“दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा त समस्या छँदैछ, कार्यालयको व्यवस्थापकीय काममा पनि अप्ठेरो हुँदै आएको छ”, उनले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ