- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिन्धुपाल्चोक । पाँचपोखरी प्राकृतिक छटाहरु भरिपूर्ण पैदल गन्तव्य हो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा अवस्थित पाँचपोखरीको आफ्नो साँस्कृतिक र धार्मिक मान्यता पनि रहेको छ ।
संघीय राजधानी काठमाडौँबाट करिब दुई दिनको यात्रापछि पुग्न सकिने सो पोखरी सार्वजनिक यातायातबाट जाने हो भने काठमाडौँको जोरपाटीबाट पाँचपोखरीको लागि बस बिहानको ६ः३० बजे छुट्ने गर्दछ ।
सो बसले दिउँसो १ बजेभित्रै पुर्याउँछ । छिन्ती बजार, जुन बस यात्राको अन्तिम गन्तव्य हो । छिन्तीमा खाना खाइवरी शुरु हुन्छ पैदल यात्रा । बाटो केही अप्ठ्यारो भएता पनि हरियाली, खोला, झरना र ग्रामीण जनजीवन हेर्दै यात्रा गर्दा बाटो कटेको भने पत्तै हुँदैन ।
छिम्तीबाटको पैदल यात्रापछि उकालो हुँदै टुप्पी डाँडा टप खर्केमा भने बास बस्नुपर्नेहुन्छ । टपखर्क नोरसिन्गपाटी लौरिबिनाको यात्रापछि भने पाँचपोखरी पुग्न सकिन्छ ।
एकै ठाँउमा पाँच वटा पोखरी, सेता हिमाल, चिसो हावापानी र जमीनभरी फुलेका विभिन्न रंगका फूलहरुले सबैको मन भने अवश्य नै लोभ्याउने गर्दछ । पाँचपोखरीमा हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ।
पूर्णिमाको दिन र रातभरि धामी–झाँक्रीको झाँकी हेर्न सकिन्छ । तामाङ समुदायको बाहुल्याता रहेको सो क्षेत्रमा स्थानीय भेषभूषा र भाषामा झाँक्री नाच हेर्न पाइन्छ । पाँच पोखरी, इन्द्रावती नदीको उद्गमस्थल पनि हो ।
यी पाँचपोखरी सबैका बेग्लाबेग्लै नाम छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड ।
यस पोखरीको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ । जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।
पाँचपोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रूपमा लिइन्छ । (नेपाल फोटो लाइब्रेरी)