arrow

अपराधको 'अड्डा' बन्दै तिलोत्तमा

logo
नारायण वली,
प्रकाशित २०८० भदौ ३ आइतबार
tilottama hatya kanta-2.jpg

रुपन्देही । कुनैबेला निकै चर्चामा रहेको पालिका हो तिलोत्तमा नगरपालिका । ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा नामले चर्चा पाएको तिलोत्तमा अन्य पालिकाहरुको अवलोकन केन्द्र बन्यो । तर पछिल्लो समय सो पालिकाको नाम सुन्ने बित्तिकै त्रासमय बनेको छ । आफ्नै घरभित्र भएका जघन्य डरलाग्दा घटनाले तिलोत्तमालाई विक्षिप्त बनाउँदै गएको छ । 

घटना नं १– २०७८ भदौ २० गते तिलोत्तमा नगरपालिका वडा न–५ मणिग्राममा सीता भण्डारीको घरमा बेलुका श्रीमानसँग सुतेको अवस्थामा बिहान मृत फेला परिन् । आफ्नै घरमा खाना खाएर सुतेकी भण्डारी अचानक कोठामा झुण्डिएको अवस्थामा फेला परेपछि घरकै सदस्यको संलग्नतामा विभत्या हत्या भएको आरोप मृतक भण्डारीका माइती पक्षले लगाए ।

उनीहरुले आरोप मात्रै होइन इलाका प्रहरी कार्यालय बुटवलमा किटानी सहितको जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेपछि प्रदर्शनसमेत गर्न परेको र पछि प्रहरीले जाहेरी लिएपछि पक्राउ गरी मुद्धा चलाइयो ।

जाहेरीमा आफ्नै श्रीमानसहित अन्य केही व्यक्तिहरुको नाम जोडिएको थियो । पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि जेल चलान गर्यो । करिब ३ महिना नपुग्दै उनीहरु धरौटीमा छुटेको खबर छायो ।

घटना नं २– २०७८ चैत ३० गते तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी अमृता खत्री टण्डन पनि आफ्नै घरमा मृत अवस्थामा भेटिइन् । घटना शंकास्पद भएकाले आत्महत्या नभइ हत्या भएको माइती पक्षको दाबी कायमै रहेपछि तनाव सिर्जना भयो ।

पीडित माइती पक्षले घरपरिवारले नै आफ्नी छोरीको हत्या गरेको भन्दै अडान कायम राख्दै शव बुझ्न मानेनन्, अन्ततः अमृताको शव ७३ दिनपछि अर्थात् ०७९ असार १० गते उठाइयो । र उनको शवलाई तिलोत्तमाको मगरघाटमा अन्तिम संस्कार गरिएको टण्डनका दाइ पुष्कर खत्रीले बताए । 

घटना नं ३– अमृता टण्डनको मृत्यु प्रकरण पश्चात् झण्डै डेढ वर्षपछि तिलोत्तमाकै वडा नं ४ ड्राइभर टोलमा शंकास्पद घटना भएको छ । ड्राइभर टोलकी ३६ वर्षीया पुष्पा टण्डन २०८० साउन २७ गते रुपन्देहीको सालझण्डीनजिकै रहेको फायरलाइन जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परिन् ।

टण्डन गुल्मी दरबार गाउँपालिकाको भएको र छोरा र छोरीको साथमा ड्राईभरटोलमा बस्दै आएकी थिइन् । श्रीमान् वैदेशिक रोजगारीका लागि कोरियामा छन् । साउन २६ गते दिउँसो घरबाट निस्किएकी पुष्पा साउन २७ गते मृत भेटिएपछि आफैँ आत्महत्या गरेको नभइ आत्महत्या गर्न बाध्य बनाइएको हुनसक्ने आरोप पीडित पक्षको छ ।

पुष्पाको शव भेटिएलगत्तै परिवार तथा आफन्तले छिमेकीको मिलेमतोमा हत्या गरेर झुन्ड्याएको भन्दै विरोध प्रद्धर्शनलाई जारी राखे । 

मृतक टण्डनकी भतिजी रन्जनाका अनुसार पुष्पाले छिमेकी रन्जित नामका व्यक्तिलाई एक वर्षअघि १७ लाख रुपैयाँ सापटी दिएको र २ महिनायता पुष्पाले लगातार पैसा माग्दै आएको, पैसा माग्दा साउन २६ गते विवाद हुँदा छिमेकीले प्रहरीको रोहबरमा रकम लेनदेन र गाली बेइज्जतीको विषय मिलाउने मौखिक सहमति गरेको बताइएको छ ।

सोही दिन पुष्पा एक छिन भन्दै मध्यान्ह १२ बजे घरबाट निस्केर गएको बुझिएको छ । कोरियामा रहेका श्रीमान् केशव कार्की घटना भएको खबरपछि घर फर्किएका छन् । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण आत्महत्या देखिएको प्रहरीले जनाए पनि पीडित पक्ष यो कुरा मान्न तयार छैन । 

उक्त मृत्यु प्रकरणमा प्रहरीले हालसम्म ४ जनालाई पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा छिमेकी रन्जित भुसाल र उनकी पत्नी लक्ष्मी भुसाल भएको उल्लेख छ।  

पुष्पालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ गरिएकाहरुलाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले बताए । 

घटना नं ४– करोडौँको जग्गा हत्याउन जीवित भाइको मृत्यु दर्ता गराएको रहस्य २०८० साउन ३२ गते बाहिरियो । सोही पालिकामा आफ्नै सहोदर दाइले करोडौँ मूल्य बराबरको जग्गा हत्याउन जीवितै रहेको भाइको झुटो विवरण पेश गरेर मृत्यु दर्ता गराएको रहस्यले निर्लज्ज बनायो।

यो घटना तिलोत्तमा नगरपालिका–४ सुर्यदोय टोलको हो । इन्द्रकुमार कँडेल (दाजु) ले बेदुराम कँडेल (भाई) को २०७८ भन्दै २६ गते मृत्यु भएको भन्दै २०७८ असोज १५ गते तिलोत्तमा वडा नं ४ बाट मृत्यु दर्ता प्रमाणपत्र बनाएको फेला परेपछि अहिले उक्त विषयले बजार तताएको छ। 

भाइ बेदुराम रोजगारीका लागि भारत गएको मौका छोपी दाजु इन्द्रबहादुरले मृत्यु दर्ता बनाएको र भारतमा रहेका भाइ दुई वर्षपछि घर आउँदा दाजुले आफ्नो मृत्यु दर्ता गरेको थाहा पाएपछि यस्तो रहस्य बाहिरिएको हो।

इन्द्रकुमारले वडामा दिएको निवेदनमा भाइ बेदुराम बौद्धिक अपाङ्गता र अविवाहित समेत भएको विवरण उल्लेख गरेका छन् । वडा कार्यालयमा दिएको निवेदन विवरणमा उनले २०७८ भदौ १५ गते सैनामैनामा भाइको मृत्यु भएको उल्लेख गरेको पाइएको छ। 

निवेदनमा चार जना व्यक्तिले सनाखत गरिदिएका छन् । कँडेलको उक्त निवेदनमा पूर्णचन्द्र बस्याल, रिमा बस्याल, अजयकुमार न्यौपाने र धनीसरा न्यौपानेले सही सनाखत गरिदिएपछि तत्कालीन वडा अध्यक्ष दिवाकर ढकालको रोहबरमा वडा सचिव काशीराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता गरी प्रमाणपत्र उपलब्ध गराएका थिए ।

अहिले जीवित व्यक्तिलाई झुटो विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको घटना दुई वर्षपछि बाहिरिएसँगै दाजु इन्द्रकुमार कंँडेललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता श्यामु अर्यालले जनाए । 

सुरक्षा/अनुसन्धानमा प्रश्न 
जिल्लामा श्रृंखलाबद्ध रुपमा यसरी डरलाग्दा घटनाहरु थपिँदै गए पनि घटनामा कानून बमोजिम सजाय नहुँदा सोही प्रकृतिका घटनाहरु बढ्दै गएको मावन अधिकार तथा शान्ति समाजले बताएको छ ।

समाजले निर्मम घटना घट्दा पनि अभियुक्तलाई कडा कारबाही नहुँदा यस्ता घटनाले प्रशय पाएको दुःखेसो छ । स्थानीय जानकारहरु अभियुक्तलाई बचाउन राजनीतिक हस्तक्षेप गरिने र सुरक्षा निकाय पनि प्रभावमा पर्ने भएकाले घटनाहरुको सतहसम्म पुगेर अनुसन्धान नहुनुले अभियुक्तले उन्मूक्ति पाउने र पीडितले न्याय नपाउने नजिर स्थापित भएकोमा खेद प्रकट गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ