arrow

नामको मात्रै प्रदेश सरकार

कठपुतली बनाइरहे प्रदेशबाट विद्रोह हुन्छः मुख्यमन्त्री चौधरी

देश संघीयतामा गएपछि बनेका सात वटा प्रदेश पाँच वर्ष बितिसक्दासमेत अधिकारविहीन

logo
नारायण वली,
प्रकाशित २०८० भदौ ३ आइतबार
delhibahadur-chaudhary-lumbini-chief-minister-2080.jpg

रुपन्देही । देश संघीयतामा गएपछि बनेका सात वटा प्रदेश पाँच वर्ष बितिसक्दासमेत अधिकारविहीन छन् । जसका कारण नामको मात्रै प्रदेश सरकार बन्न पुगेका छन् ।

जनस्तरबाट प्रदेश संरचना हटाउनुपर्ने आवाज पछिल्लो समय व्यापक रुपमा उठ्दै आएका बेला लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता फेल भएमा त्यसको जिम्मेवार संघीय सरकार हुने बताएका छन् ।

आइतबार दाङको लमहीमा आयोजना गरिएको संघ, प्रदेश र स्थानीय तहको अधिकार सूचीका आधारमा कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी प्रारम्भिक सुझाव संकलन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री चौधरीले संघीय सरकारले अधिकार मुठीमा राखेर  प्रदेशलाई कठपुतली बनाएको भन्दै यस्तै रहिरहे प्रदेशबाटै विद्रोह हुन सक्ने चेतावनी दिए ।

मुख्यमन्त्री चौधरीले यदि संघीयता फेल भयो भने त्यसको जिम्मेवार र जवाफदेहिता संघीय सरकारले लिनुपर्ने भन्दै संघीयता खारेजीको माग आमनागरिकबाट चर्को रुपमा आएको बताए । उनले आगामी दिनमा संघीयता फेल भयो भने प्रदेश सरकारको कुनै दोष नहुने जिकीर गर्दै त्यसको कारक संघीय सरकार नै हुने दाबी गरे ।

संघीयतालाई सफल बनाउन कर्मचारीहरुको भूमिका महत्त्वपूर्ण हुने भन्दै फरक बुझाइ राख्न नहुने सुझाए । ‘कर्मचारीहरु द्वैध स्वभावका भए भने त्यसले संघीयतालाई कमजोर बनाउने चौधरीको तर्क छ ।

जनतालाई संघीयताको अनुभूति गराउन ग्रामीण क्षेत्रको विकास गर्नुपर्ने उनले बताए । हिजो पाँच वर्षसम्म कानून बनायौँ भनेर छुट पाएको जस्तो बहाना गरेर उम्कने ठाउँ नभएको पनि उनले स्पष्ट पारे । 

मुख्यमन्त्री चौधरीले भने, 'अब हामीले काम गरेर देखाउने अवसरमा परिणाम देखाउने हो ।' गाउँको विकास र बेरोजगारी समस्यालाई हल गरेर आर्थिक उत्पादनलाई जोड दिनुपर्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ