arrow

युवालाई देशको माया हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
Surendra Panday gandaki province.jpg
तस्बिर-फाइल

बलेवा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताएका छन् । 

उच्च शिक्षासम्म देशले लगानी गर्ने तर युवाहरूको ऊर्जावानर र उत्पादनशील समय विदेशमा बित्ने अवस्था सिर्जना भएको भन्दै उनले देशले आफूप्रति गरेको लगानी सम्झिन युवाहरूलाई आग्रह गरे । 

देशमा अवसर नै नभएको, देशको अवस्था गतिलो नभएको भन्ने हल्ला फैलाउने र युवा पलायनलाई बढावा दिनेहरूका विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो । 

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले उत्पादन वृद्धि र स्वरोजगार उत्पादनमा जोड दिएको भन्दै युवापुस्तालाई देश र माटोप्रतिको मोह बढाउन आग्रह गरे । 

उनले आफ्ना छोराछोरीलाई विदेश पठाउन बल नगर्न अभिभावकलाई आग्रह गरे । 

उनले विदेशमा पढेर मात्रै देशको विकास नहुने भन्दै स्वदेशमै शिक्षा आर्जन गर्ने र ऊर्जावान् समय देशमै बिताउन युवाहरूलाई आग्रह गरे ।

बागलुङको बलेवमा रहेको प्रसिद्ध कालभैरव मन्दिरमा मङ्गलबार ऐतिहासिक हरेलो मेलाको उद्घाटन गर्दै पाण्डले देशमा सबैखाले विकासले गति लिएको बताए । 

उत्पादन वृद्धि, रोजगारीका अवसर सिर्जना हुँदै जाँदा युवा पुस्ता नरहने अवस्था सिर्जना हुन थालेको भन्दै उनले सबै राजनीतिक शक्तिले सोच्ने बेला आएको बताए ।

देशमा भएका राजनीतिक परिवर्तनले विकासमा ठूलो टेवा पुर्याएको भन्दै पाण्डेले केही नभएको भन्ने हल्लाका पछि नलाग्न अग्रह गरे । 

शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा २० वर्ष पहिले र अहिलेको अवस्थामा आमूल परिवर्तन आएको उदाहरण दिँदै पाण्डेले लोकतन्त्रको सदुपायेग गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकास, आर्थिक क्षेत्रको प्रवर्द्धनको आधार भएको बताए । 

बागलुङको विकासका लागि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे । 

प्रसिद्ध बलेवा क्षेत्र र धार्मिक पर्यटकीय क्षेत्र कालभैरव मन्दिरमा पूर्वाधार विकास र सडक सञ्जालको सहज पहुँचका लागि प्रदेश सरकारले पहल गर्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ