arrow

धादिङ बस दुर्घटनामा मृत्यु भएका चारको सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
bus-accident-trisuli-2080-0.jpg

मलेखु । धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।

दुई  महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको छ । मृतक एकजना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले ‘इ सेवा’बाट टिकट लिएका थिए । कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताए । उनी सकुशल रहेका छन् ।

काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । प्रहरी उपरीक्षक मिश्रका अनुसार १७ जना दुर्घटनामा  घाइते छन् । 

१३ जनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।

बस नदीमा डुबेकाले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ