arrow

स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, १७ घाइतेलाई पोखरा ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
jeep-accident-syangja.jpg

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित मिर्दी-चापाकोट सडकखण्डमा शुक्रबार बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका वालिङ नगरपालिका-७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ।

दुर्घटनामा चालक वालिङ-७ का २८ वर्षीय मिनबहादुर सारू सामान्य घाइते भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको स्याङ्जा प्रहरीले जनाएको छ।

घाइतेमध्ये वालिङ-७ की रुपकला सारू, रुपन्देही गैडाहवा गाउँपालिका-४ की सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) कावासोती नगरपालिका-५ की मायादेवी सुनारीको अवस्था गम्भीर छ।

यसैगरी मायादेवी सुनारीकी १२ वर्षीया छोरी कर्मिसा सुनारी, वालिङ-७ की जैकला सारू, पोखरा महानगरपालिका-९ की रुक्सना थापा, रुपन्देही देवदह-५ की कमला थापा, स्याङ्जा बिरुवा-६ का टोपबहादुर थापा, वालिङ-७ की गौमाया सारू, बेलबहादुर आले, कुमार सारू, ज्ञानुमाया सारू, नवलपरासी (पूर्व) गैँडाकोट-२ की आस्मा तामाङ सारू र उनकी २० महिनाकी छोरी प्रिन्सा सारू, रुपन्देही गैडाहवा-४ की सावित्रा मगर, धनकुमारी उचाई तथा रुपन्देही देवदह-६ की नन्दकुमारी राना घाइते भएका छन्। सबै घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान करिब ११ः२० बजे ताप्केतर्फबाट वालिङ आउँदै गरेको बाएए ७९०५ नम्बरको डबल क्याप बोलेरो जीप चालकले नियन्त्रण गुमाउँदा सडकछेउमा पल्टिएको थियो। जीपमा चालकसहित करिब १९ जना सवार थिए। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ