arrow

चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरमै रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
timmurey-rasuwa.jpg

रसुवा। रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण  विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन् । 

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु-रसुवागढी सडक खण्डमा अत्यधिक हिलो भएका  कारण गत वर्ष र चालुआवको साउन महिनामा आयात गरिएका चार सयभन्दा बढी नयाँ कार, जीप, भ्यान टिमुरेमै रोकिएका छन् ।

यसबाट रु एक अर्बभन्दा बढी भन्सार शुल्क असुल गर्न बाँकी रहेको उनले बताए  । सडकको नाजुक अवस्थाका कारण रसुवागढी क्षेत्रमा अहिले एमबी, बिवाइडी, किङलङ र नेटा कम्पनीले आयात गरेका सवारीसाधन रोकिएका जनाइएको छ ।  

सडक सुधार गरी नेपाल-चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायमा अनुरोध भइरहेको भन्सार कार्यालयले जनाएको छ । मालवस्तु  आयात-निर्यात गर्ने  प्रमुख नाकाको सडकमार्ग संरक्षणमा सडक विभाग गम्भीर हुनुपर्नेमा  स्थानीय बासिन्दाले समेत माग राखेका छन् । सडक विभागले हिलो फ्याँक्न सक्ने एउटा ठूलो उपकरण र बलौटे माटो बोक्ने टिपरसमेत राख्नुपर्ने स्थानीयको माग छ ।

यस्तै चालु आर्थिक वर्षको साउनमा आयातित चिनियाँ माल सामग्रीबाट रु एक अर्ब तीन करोड ९६ लाख ३७ हजार ९१ भन्सार शुल्कवापतको राजस्व  सङ्कलन भएको छ । साउनमा लक्ष्यभन्दा ३० दशमलव २६ प्रतिशतले राजस्व वृद्धि भएको बताइन्छ ।



नयाँ