arrow

बालकोटमा झाँक्री, ओलीले भने – ‘विगतमा के भयो भन्ने बिर्स मैले त झन् बिर्सिसकेँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
ramkumari-jhakri2.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा कालमा बोल्न पाइएन भनेर सार्वजनिक कार्यक्रममा केपी शर्मा ओली विरुद्ध भाषण गरेपछि निकै चर्चामा आएकी रामकुमारी झाँक्री केही दिनअघि ओली निवास बालकोट पुगिन् भनेर कसैलाई पत्यार नलाग्न सक्छ । 

तर यथार्थ यो हो कि नेकपा एसको पोलिटब्युरो बैठक चलिरहेको थियो, केन्द्रीय कमिटीको बैठक शुरुआत हुने क्रममा थियो । यही बीचमा उनी एक साँझ बालकोट पुगिन् । 

नेकपा एमालेका अन्य कोही नेता कार्यकर्ता नभएको मौकामा उनी बालकोट पुगेकी थिइन् । लामो समयदेखि भेटघाटको प्रयास गरे पनि केपी ओलीको समय नमिलेका कारण उनको भेटघाट हुन सकेको थिएन । 

एमालेका धेरै नेताहरुले उनलाई भेटघाट गर्ने र पार्टी काममा जिम्मेवारी दिएर फर्काउने प्रयास गरे पनि असफल रहेका थिए । 

उनका अग्रज र समकालीन धेरै विद्यार्थी नेताहरु एमालेमै रहेका छन् । एमालेका सचिव गोकर्ण विष्टसँग गुल्मी २ बाट चुनावमा प्रतिस्पर्धा पनि गरिन्  । तर जित निकाल्न सकिनन । 

चुनावपछि नै उनी निकै निराश र निस्कृय रहेको अवस्था धेरै पटक एमालेका नेता कार्यकर्ताहरुसँग उनको भेटघाट भयो । तर बालकोट पुग्ने र केपी ओलीसँग भेटघाट गर्ने अवसर प्राप्त भएको थिएन । 

केही दिनअघि उनलाई एक युवा व्यवसायीले बालकोट लिएर पुगेका थिए । आफ्नै गाडीमा लगेका उनले केपी ओलीलाई एक मिनेट ढिला नगरी भेटघाट गराए । 

करिब एक घण्टाको बसाईमा ओलीले पुराना कुरा सबै बिर्सेर एमालेमा फर्कन आग्रह गरेका थिए । ‘विगतमा के भयो भन्नेतिर तिमीले पनि बिर्स मैले त झन् बिर्सिसकेँ । पार्टी बनाउने तिमीहरुले नै हो । काम गर्ने वातावरण बन्छ । पार्टीमा आउनु फर्कनु । साँघुरो घेरामा बसेर घर बन्दैन’, ओलीले झाँक्रीलाई भनेका थिए । 

भेट निकै गोप्य रहेकाले यसलाई बाहिर कतै ल्याउने कुरा नभएको स्रोतको दाबी छ । ‘भेट भएको विषयमा ओलीको घरमा सुरक्षा गरिरहेका सुरक्षा गार्ड, भेटघाटको चाजो पाँजो मिलाउने व्यवसायी तथा, महेश बस्नेत र झाँक्रीलाई मात्र थाहा छ’, स्रोतले भन्यो । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दुई वर्षअघि झण्डै पचास वर्ष आफैँले संघर्ष गरेर हुर्काएको पार्टी एमाले छोडेर नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका थिए । 

आयोग कार्यालयमा सञ्चारकर्मीहरूको ठूलो भीड लागेको थियो । नेपाल गाडीबाट ओर्लिएर आयोगको भवनमा प्रवेश गर्दैगर्दा सञ्चारकर्मीका क्यामेराको फ्रेममा एउटा तस्बिर र भिडियो कैद भयो । जुन भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ । 

भिडियो र तस्बिरमा दृश्य थियो– माधव नेपाललाई नेतृ रामकुमारी झाँक्रीले हात समातेर आयोग कार्यालयतर्फ डोहोर्याउँदै गरेको । सकारात्मक सोच राख्नेहरू यसलाई राजनीतिमा पुरानो पुस्तामाथि नयाँ पुस्ताको हस्तक्षेपको बिम्बको रुपमा टिप्पणी गरिरहेको भए पनि अहिले नेकपा एसभित्र झाँक्रीलाई कर्नरमा पारेर पेलिएको छ । 

उनी कतिपय बैठकमा सहभागी हुन्निन् । पछिल्लो पटक पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा सहभागी भएकी थिइन् । उनले पोलिटब्युरो बैठकमा केही धारणा नराखे पनि केन्द्रीय कमिटीको बैठकमा धारणा राखेकी थिइन् । 

समग्रमा उनी पार्टीभित्र निकै ‘फ्रष्टेशन’ मा रहेको र कुनै पनि बेला एमालेमा जान सक्ने संभावना रहेको उनी निकट रहेका केही नेतृहरुको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ